close

एसियन गेम्स २०२३: नेपालको पब्जी टिम सेमिफाइनलमा

टेकपाना टेकपाना

असोज १२, २०८० १५:२५

एसियन गेम्स २०२३: नेपालको पब्जी टिम सेमिफाइनलमा

काठमाडौं । एसियन गेम्स २०२३ अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम  सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको नकआउट चरणको खेलमा ‘ग्रुप सी’ मा रहेको नेपालले चार टिममध्ये दोस्रो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गरेको हो । ग्रुपकाे विजेता भने हङकङ टिम बन्याे ।

‘ग्रुप सी’ मा नेपाल र  हङकङसँगै प्यालेस्टाइन र साउदी अरेबियाले प्रतिस्पर्धा गरेका थिए । हङकङ टिमले ५१ मिनेट ०९.९८३ सेकेन्डमा गेम पूरा गर्‍याे भने नेपालले ५४ मिनेट ०४.८४२ सेकेन्ड गेम पूरा गर्‍याे । त्यस्तै गेम पूरा गर्न प्यालेस्टाइनी टिमले एक घन्टा ४९.५२७ सेकेन्ड र साउदी टिमले एक घन्टा तीन मिनेट ४५:१०७ समय लगायाे ।

अन्य ग्रुपबाट दक्षिण काेरिया, चाइनिज ताइपेई, जापान, थाइल्यान्ड, चीन र इन्डोनेसियाले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।

नेपाल सेमिफाइनलमा ‘ग्रुप ए’ मा रहेको छ । नेपालले सेमिफाइनलमा दक्षिण कोरिया, चाइनिज ताइपेई र जापानसँग प्रतिस्पर्धा गर्नेछ । यदि सेमिफाइनलमा नेपाल शीर्ष दुईभित्र पर्न सके फाइनलमा स्थान बनाउने छ ।

सेमिफाइनलको खेल भोलि हुनेछ । पब्जी विधाको फाइनल भने अक्टोबर १ अर्थात पर्सि हुनेछ ।

एसियन गेम्समा नेपाली टिमको प्रतिनिधित्व पब्जी टिम डीआरएस गेमिङले गर्दैछ । यसअन्तर्गत टिममा सुबिन कुमार प्रजापति (रुल्ज), दिपेश गुरुङ (डेल्टाएक्स), साहस भण्डारी (किलर वाइटी) र समिर गुरुङ(ग्यान्टे) छन् ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८० १५:३९