काठमाडौं । एसियन गेम्स २०२३ अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलबाट बाहिरिएको छ । शनिबार हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा ‘ग्रुप ए’ मा रहेको नेपाल चार टिममध्ये तेस्रो स्थानमा रहँदै सेमिफाइनलबाट बाहिरिन पुगेको हो ।
यसै ग्रुपमा रहेको जापान पनि चौंथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । ‘ग्रुप ए’बाट दक्षिण कोरिया र चाइनिज ताइपेई फाइनल चरणमा पुग्न सफल भएका छन् ।
दक्षिण कोरिया टिमले ५० मिनेट ३७.१५१ सेकेन्डमा गेम पूरा गर्याे भने चाइनिज ताइपेईले ५२ मिनेट १९.३९३ सेकेन्डमा गेम पूरा गर्याे । त्यस्तै गेम पूरा गर्न नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेन्ड र जापानले ५४ मिनेट ४२.५३१ सेकेन्ड लगायाे ।
एसियन गेम्समा नेपाली टिमको प्रतिनिधित्व गर्दै सुबिन कुमार प्रजापति (रुल्ज), दिपेश गुरुङ (डेल्टाएक्स) साहस भण्डारी (किलर वाइटी) र समिर गुरुङ (ग्यान्टे)ले खेलेका थिए ।