close

पोडकास्टलाई सुन्दै पढ्न पनि मिल्ने बनाउँदै स्पोटिफाई

टेकपाना टेकपाना

असोज १३, २०८० १५:१६

पोडकास्टलाई सुन्दै पढ्न पनि मिल्ने बनाउँदै स्पोटिफाई

काठमाडौं । स्पोटिफाईमा पोडकास्ट सुन्नेहरूले स्वत: तयार हुने ट्रान्सक्रिप्ट पनि पढ्न पाउने भएका छन् । आज अर्थात् ३० सेप्टेम्बरमा परेको अन्तर्राष्ट्रिय पोडकास्ट दिवसका अवसरमा स्पोटिफाईले यस्तो फिचर ल्याउने घाेषणा गरेकाे हो ।

यससँगै पोडकास्टमा बोलेको कुरा पढ्न पनि पाइने भएको छ ।  यसरी तयार भएका ट्रान्सक्रिप्ट पोडकास्टर वा कार्यक्रममा आएका व्यक्तिले बोलेको समय अनुसार हुने कम्पनीले जनाएको छ ।

स्पोटिफाई प्लेटफर्ममा यो फिचर प्रयोग गर्न ‘पोडकास्ट प्लेयर’ भित्र हुने ‘read along’ सेक्सनमा जानु पर्ने हुन्छ । त्यसपछि पोडकास्ट सुरु भएसँगै ट्रान्सक्रिप्ट पनि देखिन थाल्छ ।

यस फिचर सार्वजनिक भएपछि श्रवण शक्ति नभएका र सुन्न भन्दा पढ्न रुचाउने प्रयोगकर्ता लाभान्वित हुने कम्पनीले जनाएको छ । साथै आगामी दिनमा कम्पनीले ट्रान्सक्रिप्टहरूमा फोटो लगायतका मिडिया सामग्री पनि थप्न दिने बताएको छ । 

त्यस्तै पोडकास्ट सुन्ने श्रोताहरूलाई लक्षित गर्दै स्पोटिफाईले 'च्याप्टर' वा शीर्षकका आधारमा पोडकास्ट सुन्न मिल्ने बनाउने भएको छ । यसका लागि कम्पनीले पोडकास्टरलाई 'च्याप्टर' थम्न मिल्ने सुविधा दिने भएको छ ।

यससँगै पूरै पोडकास्ट नसुनी प्रयोगकर्ताले विशेष भाग मात्र पनि सुन्न सक्ने छन् । केही समय पहिले मात्रै कम्पनीले पोडकास्ट अन्य भाषामा अनुवाद गर्न मिल्ने फिचर पनि सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० १५:१६