close

२ डलरमा आईफोन १५ प्रो दिने भन्दै डिपफेकबाट आफ्नो भिडिओ बनाएपछि मिस्टर बिस्ट तनावमा

टेकपाना टेकपाना

असोज १६, २०८० १६:२८

२ डलरमा आईफोन १५ प्रो दिने भन्दै डिपफेकबाट आफ्नो भिडिओ बनाएपछि मिस्टर बिस्ट तनावमा

काठमाडौं । सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टको डिपफेक भिडिओ भाइरल हुन थालेको छ । दुई डलरमै आईफोन १५ मोडेल गिभअवे गर्ने स्क्यामर (ठगी गर्ने व्यक्ति)ले डिपफेक प्रविधिबाट तयार पारेको भिडिओ भाइरल भएको हो ।

भिडिओ भाइरल हुन थालेपछि बिस्टले मङ्गलवार सामाजिक सञ्जाल एक्समा सो भिडिओ राख्दै यसले गम्भीर समस्या निम्त्याउने उल्लेख गरेका छन् । “धेरै मानिसहरूले मेरो यो डिपफेक स्क्यामको विज्ञापन पाइरहेका छन्,” उनले लेखेका छन्, “के सामाजिक सञ्जालका प्लेटफर्महरू एआई डिपफेकका उदयलाई व्यवस्थापन गर्न सक्छन् ? यो गम्भीर समस्या हो ।”

बिस्टले एक्समा शेयर गरेको भिडिओ कहाँबाट प्राप्त गरेको हो भन्ने खुलाएका छैनन् । उनले शेयर गरेको भिडिओमा भनिएको छ, “यदि तपाईंहरू यो भिडिओ हेर्दै हुनुहुन्छ भने तपाईं १० हजार भाग्यमानी व्यक्तिहरू मध्येको एक हो, जसले आईफोन १५ प्रो जम्मा दुई डलरमा पाउनु हुनेछ । म मिस्टर बिस्ट हो । र, म अहिले संसारको सबैभन्दा ठूलो आईफोन १५ गिभअवे गर्दैछु । तल दिइएको लिङ्क क्लिक गरेर तपाईंको आईफोन दाबी गर्नुहोस् ।”

उनको पोस्टमा रिप्लाई गर्दै सयौं प्रयोगकर्ताले आफू दुई डलरमा आईफोन १५ प्रो पाउनेमा विश्वस्त भएको उल्लेख गरेका छन् । बिस्टले एक्समा उक्त भिडिओ ब्लर गरेर राखेको भए पनि सो भिडिओ टिकटकबाट तानिएको प्रस्ट देखिन्छ ।

उक्त भिडिओ मिस्टर बिस्टको आधिकारिक अकाउन्टबाट लिइएको देखिन्छ । सो भिडिओ मिस्टर बिस्टको आधिकारिक टिकटक अकाउन्टमा कसरी आयो भनेर पनि धेरै प्रयोगकर्ताले प्रश्न उठाएका छन् । केही प्रयोगकर्ताले सामाजिक सञ्जालमा अहिले भेरिफिकेसन मार्क पाउनु सामान्य भएको भन्दै यसकाे दुरुपयोग भएकाे उल्लेख गरेका छन् ।

पछिल्लो समय डिफफेककै कारण समाजमा भ्रामक सूचनाको प्रवाह अत्यधिक भइरहेकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १६:२८