काठमाडौं । स्मार्टवाचको अपरेटिङ सिस्टम ‘वेयर ओएस’का लागि गुगलले जिमेल एप सार्वजनिक गरेको छ । गत मे महिनामा सम्पन्न गुगल आईओमा घोषणा गरिएको उक्त फिचर कम्पनीले बिहीवारदेखि उपलब्ध गराउन थालेको हो ।
नाइन टु फाइभ गुगल अनुसार गुगलले सबैभन्दा पहिले फेला पारेको यो फिचर अन्तर्गत प्रयोगकर्ताले अब आफ्नो जिमेलमा आएका मेल स्मार्टवाचबाटै हेर्न सक्नेछन् । अहिले गुगलले उत्पादन गरेका पिक्सेल वाचमा वेयर ओएस समावेश छ ।
प्रयोगकर्ताले स्मार्टवाचबाटै ईमेल रिफ्रेश गर्न, ईमेल पढ्न, विभिन्न अकाउन्टबीच स्वीच गर्न सक्नेछन् । त्यस्तै ईमेल नोटिफिकेसन पनि स्मार्टवाचको डिस्प्लेमै देखिनेछ । वेयर ओएसका लागि यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
विशेषगरी फोन वा कम्प्युटरमा नबसेको अवस्थामा प्रयोगकर्ताले ईमेल पढ्न, रिप्लाई गर्न र डिलिट गर्न ढिलाइ गरिरहेका हुन्छन् । यसैलाई मध्यनजर गर्दै गुगलले यस्तो फिचर ल्याएको हाे ।
वेयर ओएस थ्री र वेयर ओएस फोरमा सपोर्ट हुने जिमेल एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।