काठमाडौं । गुगलले पिक्सेल सिरिजमा सस्तो फोन ल्याउने कुनै योजना नभएको बताएको छ । जर्मनीको स्थानीय सञ्चारमाध्यम डेर स्ट्यान्डर्डसँगको अन्तर्वार्तामा गुगल मोबाइल बिजनेसका भाइस प्रेसिडेन्ट नन्द रामचन्द्रनले पिक्सेल सिरिजमा कम मूल्यका फोन ल्याउने योजना नबनाएको पुष्टि गरेका हुन् ।
“हामीले त्यसका लागि धेरै कुरामा कम्प्रमाइज (सम्झाैता) गर्नुपर्ने हुन्छ," रामचन्द्रनले भने, “त्यसमा पनि नयाँ एआई स्मार्ट फिचरहरू, उत्कृष्ट क्यामेरा र २०० डलरमा रहेका सेक्युरिटी बन्डलिङ जस्ता विशेषतामा कम्प्रमाइज गर्नुपर्ने बाध्यता हुन्छ ।”
यसो त गुगलले सन् २०१७ तिर अविकसित देशमा बिक्री हुने स्मार्टफोनको मूल्य सस्तो बनाउन एन्ड्रोइड गो नामको अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एन्ड्रोइड डिभाइस सबै प्रयोगकर्ताको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएको उक्त अपरेटिङ सिस्टम कम र्याम तथा स्टोरेज भएका डिभाइसका लागि उपयुक्त थियो ।
त्यही अपरेटिङ सिस्टमका लागि उपयुक्त हुने जिमेल गो, म्याप्स गो र युट्युब गो जस्ता एपहरू पनि सार्वजनिक गरियाे । तर, गुगलले त्यस्ता सबै लाइट एपहरू बन्द गरिसकेको छ । यद्यपि गुगलको एन्ड्रोइड अपेटिङ सिस्टमको लाइट संस्करण भने विभिन्न डिभाइसमा प्रयोग भइरहेको छ ।
विशेषगरी लो-कस्ट (कम मूल्य) स्मार्टफोन निर्माताले लामो समयसम्म चल्न सकून् भनेर स्मार्टफोन बनाएका हुँदैनन् । जसले गर्दा फोनमा सेक्युरिटी इस्यु बढी आउने गर्छ । सफ्टवेयरकै कुरा गर्नुपर्दा गुगलले हालै सार्वजनिक पिक्सेल ८ सिरिजमा सात वर्षको अपडेट उपलब्ध गराउने घोषणा गरेको छ । यसको अर्थ सन् २०३० सम्म आउने एन्ड्रोइड तथा अन्य सेक्युरिटी अपडेट याे सिरिजका फोनले सपोर्ट गर्नेछन् ।
सामसङले भने सीमित ग्यालेक्सी डिभाइसमा बढीमा चार वर्षको सफ्टवेयर र पाँच वर्षको सेक्युरिटी अपडेट उपलब्ध गराउँदै आएको छ ।
सेक्युरिटी अपडेट लामो समयसम्म उपलब्ध गराउने भएकाले पनि गुगलले सस्तो फोन नल्याउने सङ्केत दिएको छ । गुगलले सार्वजनिक गरेको पिक्सेल ८ र ८ प्रोको मूल्य क्रमशः ६९९ डलर र ९९९ डलर रहेको छ ।