close

द्वन्द्वग्रस्त इजरायलमा टेस्लाका सबै सुपर चार्जर निःशुल्क प्रयोग गर्न दिने मस्कको घोषणा

टेकपाना टेकपाना

असोज २५, २०८० १२:४०

द्वन्द्वग्रस्त इजरायलमा टेस्लाका सबै सुपर चार्जर निःशुल्क प्रयोग गर्न दिने मस्कको घोषणा

काठमाडौं । एलन मस्कले इजरायलमा टेस्लाका सबै सुपर चार्जर निःशुल्क उपलब्ध गराएको घोषणा गरेका छन् । बुधवार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका मस्कले इजरायलमा उक्त कम्पनीको सुपर चार्जर निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणबाट ठूलो क्षति भएपछि आगामी सूचना नआउन्जेलसम्म मस्कले टेस्ला सुपर चार्जर निःशुल्क उपलब्ध गराउने बताएका हुन् ।

"इजरायलका सबै टेस्ला सुपरचार्जरहरू निःशुल्क छन्," मस्कले एक्समा लेखेका छन् ।

इजरायलमा विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका १७ ओटा सुपर चार्जर रहेको वेबसाइटमा उल्लेख छ । विशेषगरी लेबनानसँगैको उत्तरी सीमादेखि  तेल अविव, जेरुसेलमहुँदै इजरायलको दक्षिणी टिपमा सुपर चार्जर रहेका छन् ।

टेस्लाको वेबसाइटमा इजरायलको विभिन्न ठाउँमा २०२३ देखि २०२४ सम्म सुपर चार्जर जडान गरिने बताइएको छ । तर, पछिल्लो समय ती स्थानमा चार्जरको अवस्था के छ भन्ने स्पष्ट छैन ।

सुपर चार्जर टेस्लाको गाडी गाडी चार्ज गर्ने फास्ट चार्जिङ स्टेसन हुन् । यी चार्जरबाट १५६ मिनेट टेस्ला चार्ज गर्दा त्यसले २०० माइल्स हारहारी रेञ्ज दिने फक्स बिजनेसले उल्लेख गरेको छ ।

टेस्लाका अनुसार इजरायलमा रहेका कम्पनीका सुपर चार्जरले अहिले अन्य ब्रान्डका विद्युतीय गाडी चार्ज गर्दैन । तर, युरोप र अमेरिकामा टेस्लाको सुपर चार्जरले अन्य विभिन्न ब्रान्डका विद्युतीय गाडी चार्ज गर्न सकिन्छ ।

सन् २०२४ देखि विभिन्न विद्युतीय सवारी निर्माता कम्पनी आफ्ना ब्रान्डका गाडीले सुपर चार्जर सपोर्ट गर्ने बनाउने तयारीमा छन् । यसअघि टेस्लाको युक्रेनमा पनि टेस्ला सुपर चार्जर निःशुल्क बनाएको थियो ।

त्यस्तै युद्धबाट प्रभावित पोल्यान्ड, स्लोभाकिया र हङ्गेरीमा पनि केही सुपर चार्जर निःशुल्क बनाएको थियो । मस्कले सोही पोस्टमा आएको रिप्लाईमा प्रतिक्रिया दिंदै गाजापट्टिमा पनि यस्तै योजना बनाएको उल्लेख गरेका छन् ।

"म गाजामा शान्ति चाहनेहरूलाई मद्दत गर्न चाहन्छु, तर त्यसो गर्ने कुनै उपाय छैन," उनी लेख्छन्, "सामान्यतया, म सबै मानिस जाति, धर्म वा अन्य कुराको परवाह नगरी सुखी र समृद्ध बनून् भन्ने चाहन्छु ।"

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १३:९