close

टिकटक, फेसबुक र इन्स्टाग्राम अनलाइन ठगी गर्ने माध्यम भएः सांसद पौडेल

टेकपाना टेकपाना

असोज २६, २०८० १२:६

टिकटक, फेसबुक र इन्स्टाग्राम अनलाइन ठगी गर्ने माध्यम भएः सांसद पौडेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतबाट अनलाइन ठगी भइरहेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले सामाजिक सञ्जालका यस्ता माध्यमबाट सामानको विज्ञापन गर्ने र रकम अनलाइनबाट पठाउन लगाई ठगी गर्ने प्रवृत्ति बढ्दै गएकाले ठगी कार्य नियन्त्रण गर्न सरकारसँग माग राखे ।

"पछिल्लो समय ठगीको नयाँ धन्दा सुरुवात भएको छ," पौडेलले भने, "टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, सामान किन भन्ने, त्यसपछि सामान किन्नका निम्ति भुक्तानी अनलाइन माध्यमबाट गरेपछि सामान पनि प्राप्त नहुने, त्यो अकाउन्ट पनि बन्द हुने, यो खालको प्रविधि प्रयोग गरेर ठगी धन्दा सुरु भएको छ ।"

उनले अगाडि भने, "सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर यो प्रविधिको माध्यमबाट गरिने ठगीलाई अन्त्य गरोस् । र, त्यस्तो ठगी गर्नेलाई  कारबाही गरोस् ।" 

पछिल्लो अध्यावधिक: असोज २८, २०८० ९:२९