काठमाडौं । युट्युबमा विज्ञान बिना भिडिओ हेर्न कतिपय प्रयोगकर्ताले विभिन्न एड-ब्लकर एक्सटेन्सन प्रयोग गर्छन् । यस्ता एक्सटेन्सनको सहायोगमा भिडिओ हेर्दा युट्युबबाट आउने विज्ञापन ब्लक हुन्छन् ।
तर, प्रयोगकर्ताले एड ब्लकर प्रयोग गर्दा कम्पनीको आम्दानी भने घट्दै गएको हुन्छ । त्यही समस्यालाई समाधान गर्न युट्युबले हालै एड-ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई भिडिओ हेर्नै नदिने नीति लागु गरेको छ ।
एड-ब्लकर राख्ने प्रयोगकर्ताले भिडिओ हेर्दा युट्युबले पप-अप नोटिस देखाउने गर्छ । उक्त नोटिस हटाउनै मिल्दैन । जसले गर्दा चलिरहेको भिडिओ एक्कासी बन्द हुन्छ ।
भिडिओ हेर्नु छ भने कि त एड-ब्लकर निष्कृय पार्नुपर्छ या त शुल्क तिरेर प्रिमियम सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।
युट्युबले देखाउने एड-ब्लकर पप-अप कसरी हटाउने ?
त्यसो त एड-ब्लकर प्रयोग गरिसकेपछि जुन चेतावनी सहितको पप-अप आउँछ, त्यो क्षणिक हुन्छ । भिडिओ हेर्दै गर्दा तपाईंले उक्त पप-अप नोटिस देख्नु भयो भने सबैभन्दा पहिला एड ब्लकर डिसेबल गर्नुहोस् । त्यसपछि पुनः भिडिओ चल्न सुरु हुन्छ ।
एड-ब्लकर प्रयोग गरेर इन्टरनेट ब्राउज गर्नेहरूलाई बारम्बार एड-ब्लकर इनेबल वा डिसेबल गर्नु झन्झटिलो हुन्छ । त्यसबाहेक पनि एड-ब्लकर प्रयोग गर्दा स्क्रिनमा देखिने खतरनाक विज्ञापनबाट मुक्ति पाइन्छ ।
विशेषगरी गुगलको एडसेन्स नपाएका तर अन्य प्लेटफर्मबाट विज्ञापन लिएर ब्लग सञ्चालन गरिरहेका प्लटेफर्ममा बढी खतरनाक विज्ञापन देखिने गर्छन् । त्यसमा पनि तपाईंको फोनको नाम लिएर त्यसका लागि उपयुक्त हुने जङ्क क्लिनर, भाइरस रिमुभर जस्ता विज्ञापन देखिन्छन् ।
त्यस्ता एप इन्स्टल गरिहालियो भने पनि उनीहरूको प्रयोजन डेटा चोरी गर्ने, प्रयोगकर्तालाई फोनमा भाइरस छैन भनेर भ्रम पार्ने हुन्छ । त्यसैले एड-ब्लकरले यस्ता विज्ञापनबाट प्रयोगकर्तालाई टाढा राख्न मद्दत गरिरहेका हुन्छन् ।
यता युट्युबले खतरनाक विज्ञापनलाई निरुत्साहित गरे पनि प्लेटफर्मलाई झुक्याएर विज्ञापन गर्नेहरू पनि उत्तिकै हुन्छ ।
तर, कम्पनीलाई आम्दानीसँग बढी सरोकार हुने भएकाले प्रयोगकर्ताले एड-ब्लकर प्रयोग नगरुन् भन्ने युट्युबको चाहना हुनु स्वभाविक नै हो । त्यसैले विभिन्न तरिकाले एड-ब्लकरलाई युट्युबले निरुत्साहित गर्दै आएको छ ।
यदि तपाईं यो एड-ब्लकर प्रयोग गरेरै युट्युब भिडिओ हेर्न चाहनु हुन्छ भने ब्रेभ तपाईंका लागि उपयुक्त ब्राउजर हुन्छ ।
यसमा इन-बिल्ट एड-ब्लकर हुन्छ, जसलाई युट्युबले पहिचान गर्न सक्दैन । यद्यपि सधैं पहिचान गर्न सक्दैन भन्ने पनि होइन ।
भविष्यमा युट्युबले पहिचान गर्न सक्यो भने कुनै प्रक्रिया अगाडि बढाउन सक्ला । तर, तत्कालै बिना कुनै एडब्लकर भिडिओ हेर्न चाहनु हुन्छ भने तपाईं ब्रेभ ब्राउजरकै सहायता लिन सक्नुहुन्छ ।
यदि एप्पलका डिभाइस प्रयोग गर्नुहुन्छ भने भिनेगर युट्युब एक्सटेन्सन (Vinegar YouTube extension) प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै एन्ड्रोइडका लागि प्लेट्युब, न्युट्युब तथा स्काइट्युब जस्ता एप अन्य विकल्प हुन सक्छन् ।
एन्ड्रोइड टीभीमा भने स्मार्टट्युब एपबाट विज्ञापनरहित भिडिओ हेर्न सकिन्छ ।