close

वर्षात्‌मा चलाउने क्रममा टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

टेकपाना टेकपाना

कात्तिक २, २०८० १४:१७

वर्षात्‌मा चलाउने क्रममा टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

काठमाडौं । एक स्कटिश दम्पतीलाई आफ्नो टेस्ला मोडल वाई क्रसओभरको ब्याट्री परिवर्तन गर्न १७ हजार ३१४ पाउन्ड (करिब २८ लाख १५ हजार रुपैयाँ ) खर्च गर्नु परेको छ । गाडीको ब्याट्री परिवर्तन गर्न लाग्ने खर्च धेरै हुनु अनौठो विषय होइन । 

अनौठो विषय त यो छ कि उनीहरूले मौसम खराब हुँदा गाडी चलाउन खोजेका मात्र के थिए पानी परेर ब्याट्री बिग्रियो । स्टकल्यान्डका जोनी बासिगालुपो र रोब हसी दम्पतीले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै आफूले पानी परेको बेला गाडी चलाउन खोज्दा ब्याट्री बिग्रिएको र मर्मत गर्न गाडीको मूल्यभन्दा आधा रकम लागेको दाबी गरेका छन् । 

कुरा अक्टोबरको सुरुतिरको हो । उनीहरू डिनरका लागि एडिनबर्ग सहरको एक रेस्टुरेन्टमा टेस्ला मोडेल वाई लिएर गएका थिए । उनीहरूले गाडी बाहिर पार्क गरेर राखेका थिए । 

त्यतिबेला एडिनबर्गमा भारी वर्षा भइरहेको थियो । रेस्टुरेन्टमा खाना खाइसकेपछि उनीहरू गाडी लिएर निस्किन खोजेका मात्र के थिए, गाडी स्टार्ट नै भएन । 

आफैंले स्टार्ट गर्ने कैयन् प्रयास गरे । तर उनीहरूको कुनै जोड चलेन । त्यसपछि टेस्ला सपोर्टलाई सम्पर्क गरे । 

“हामीले टेस्ला सपोर्टलाई सम्पर्क गरेको पाँच घण्टापछि उनीहरू ट्रक ल्याएर हाम्रो गाडी भएको ठाउँमा आइपुगे,” ती दम्पतीले एडिनबर्ग लाइभसँग कुरा गर्दै भनेका छन् ।  “एक त उनीहरूले राम्रो सर्भिस दिइरहेका थिएनन् ।” त्यसैमाथि उनीहरू ढिलो आइदिंदा आफूहरू चिन्तित भएको ती दम्पतीको भनाई छ । 

बासिगालुपोका अनुसार टेस्ला सपोर्टबाट आएका व्यक्तिहरूले पनि सबैभन्दा पहिले गाडीमा के समस्या आयो भन्ने कुरा पहिचान गर्न सकेनन् । उनीहरूले गाडी नै उठाएर वर्कशपमा लान खोजे । तर असफल भए । 

पछि अर्को ट्रक बोलाएर उक्त गाडी मर्मतका लागि लगियो । “हामीले कम्प्लेन गरिसकेपछि बुधवार साँझ साढे पाँच बजेतिर हामीलाई कल आयो,” बासिगालुपोले भने, “उनीहरूले कल गरेर पानीका कारण ब्याट्री बिग्रेको छ भने । तर, दुर्भाग्यवश ब्याट्रीको समस्या आठ वर्षको वारेन्टीमा समावेश थिएन ।” 

“त्यसैले मैले मर्मत खर्च साढे १७ हजार पाउन्ड तिर्नुपर्ने भनेका छन् । अब के म त्यो भुक्तानी गरौं ? मर्मत शुल्क सुनेर म छक्क परें । यो परिस्थितिको व्याख्या गर्ने मैले कुनै शब्द नै भेटिरहेको छैन ।”

बासिगालुपोलाई गाडीको मर्मत खर्च पाँच सयदेखि हजार पाउन्डसम्म आउला भन्ने लागेको थियो । तर, १७ हजार आएपछि उनी निल्नु न ओकल्नुको अवस्थामा पुगेका छन् । 

उनले टेस्ला सपोर्टका म्यानेजरलाई सम्पर्क गरी यति धेरै बिल कसरी आयो भनेर बुझ्न पनि खोजे । 

“स्कटल्यान्डको मौसम खराब भएकाले ब्याट्रीमा पानी पसेको रहेछ भनेर म्यानेजरले सुनाए,” वासिगालुपोले भनेका छन्, “उनले यो तपाईंको कमजोरीले निम्तिएको समस्या पनि होइन भने । तर, टेस्लाको वारेन्टीमा उक्त ब्याट्रीको समस्या वारेन्टीमा समावेश हुँदैन भनिदिए ।”

“मैंले यस्तो समस्या त अरू कसैले भोगेको कहिल्यै सुनेको थिइनँ भनें । तर उनले भने, यस्तो समस्या त रेञ्ज रोभर्स र मर्सिडिजमा पनि आउँछ भन्ने जवाफ दिए ।” 

यद्यपि उक्त दम्पतीले स्कटल्याण्डका केही भागमा पानी पर्छ भन्ने पहिले नै थाहा पाएका थिए । त्यसैले एडिनबर्गमा वर्षा हुनु सामान्य थियो । 

तर, त्यही पानीकै कारण ब्याट्री बिग्रिएला र यति ठूलो खर्च बेहोर्नुपर्ला भन्ने उनले कहिल्यै कल्पना गरेका थिएनन् । 

बासिगालुपोले भनेका छन्, “टेस्लासँग मेरो अनुभव यति खराब भयो कि यसले टेस्ला किन्ने मेरो निर्णयमाथि नै प्रश्न उठाइरहेको छ ।”

जति निरुत्साहित उनी गाडीको बिल देख्दा भएका थिए, त्यत्तिकै टेस्लाको ग्राहक सेवाबाट भएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, “स्कटल्यान्डमा टेस्लाको ग्राहक सेवा यत्तिको झुर हुन्छ भन्ने थाहा पाएको भए म यो कार किन्ने नै थिइनँ ।” 

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८० १४:१७