close

१.९ सेकेन्डमै सय किलोमिटर प्रतिघण्टाको स्पिड पकड्ने बिजुली सुपरकार, मूल्य दुई करोड

टेकपाना टेकपाना

कात्तिक ६, २०८० १४:३७

१.९ सेकेन्डमै सय किलोमिटर प्रतिघण्टाको स्पिड पकड्ने बिजुली सुपरकार, मूल्य दुई करोड

 

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी जीएसी आईयोन (GAC Aion)ले नयाँ बिजुली सुपरकार सार्वजनिक गरेको छ । कम्पनीले परम्परागत बिजुली सुपरकारहरूको तुलनामा कयौं फिचर थप्दै हाइपर एसएसआर नामक सुपरकार बजारमा ल्याएको हो ।

यो सुपरकारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र १.९ सेकेन्डमा प्राप्त गर्ने कम्पनीको दाबी छ । अधिकतम गति २५० किलोमिटर रहेको यस सुपरकारमा ७४.६९ किलोवाट आवर क्षमताको टर्नरी लिथियम ब्याट्री दिइएको छ । एक पटकको फुल चार्जमा यसले ५०६ किमी (३१४ माइल) रेञ्ज दिने बताइएको छ । 

कार्बन फाइबरबाट बनाइएको सुपरकारमा अगाडि र पछाडि गरेर एडजस्ट गर्न मिल्ने ड्याम्परहरू सहित  विस्बोन सस्पेन्सन हालिएको छ । त्यस्तै गाडीमा ई-एलएसडी (इलेक्ट्रोनिक लिमिटेड स्लिप डिफ्रेन्सियल) र कार्बन सेरामिक् ब्रेक समेत राखिएको छ । साथै यसका टप स्पेक (महँगो मोडलहरू)लाई थप ट्र्याक विश्वसनीयता बढाउन विशेष ट्युन गरिएको चेसिस समावेश गरिएको छ । 

कारको भित्री भागमा छालाबाट बनाइएको नरम सतह समावेश छ । त्यस्तै यसमा तातोचिसो बनाउन मिल्ने सिट, १४.६ इन्चको  इन्फोटेन्टमेन्ट स्क्रिन र ड्राइभरका लागि ८.८८ इन्चको एलसीडी डिस्प्ले राखिएको छ । 

१२०६ हर्सपावरको यो सुपकार फिचर र मूल्यका कारण राम्रो भएको प्रतिक्रिया आइरहेको छ । कम्पनीले यस कारको विभिन्न मोडलहरूमा बजार पठाइसकेको छ । युरोपेली बिजुली सुपरकारहरू रिम्याक नेभेरा, लोटस इविजा र पिनिन फेरिना ब्याटिस्टाहरूको तुलनामा यो चिनियाँ सुपरकार निकै कम शुल्कमा उपलब्ध हुने जनाइएको छ । हाल यो सुपर कारको बेस मोडलको मूल्य मात्र एक लाख ७५ हजार डलर (दुई करोड ३२ लाख ७० हजार रुपैयाँ) रहेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८० १४:४६