close

इजरायल र गाजामा गुगल म्याप्सको लाइभ ट्राफिक अप्सन बन्द

टेकपाना टेकपाना

कात्तिक ९, २०८० १५:४४

इजरायल र गाजामा गुगल म्याप्सको लाइभ ट्राफिक अप्सन बन्द

काठमाडौं । गुगलले आफ्नो म्याप्स एपमा इजरायल र गाजा क्षेत्रमा भएको लाइभ ट्राफिक अवस्था देखिने फिचर अस्थायी रूपमा बन्द गरेको छ । इजरायलले गाजा क्षेत्रमा आक्रमण गर्ने अपेक्षा गरिएको बेला कम्पनीले यस्तो कदम चालेको हो ।

“हामीले द्वन्द्वको स्थिति र त्यस क्षेत्रमा विकसित अवस्थाको प्रतिक्रिया रूपमा स्थानीय समुदायहरूको सुरक्षालाई ध्यानमा राखेर लाइभ ट्राफिक अवस्था र व्यस्तताको जानकारी हेर्ने सुविधा अस्थायी रूपमा डिसेबल गरेका छौं,” गुगलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

यससँगै प्रयोगकर्ताले म्याप्स प्रयोग गर्न सक्ने र बाटोको डिरेक्सन पनि थाहा पाउन सक्ने तर कुन सडकमा ट्राफिक कत्तिको व्यस्त छ भन्ने कुराको जानकारी नपाउने कम्पनीले उल्लेख गरेको छ ।

अहिले हमास र इजरायलबीच भइरहेको द्वन्द्वका विषयमा गुगलले स्थानीय सरोकारवालासँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । लाइभ ट्राफिक देखिने फिचर बन्द गर्ने निर्देशन इजरायल वा गाजाले दिएको हो वा होइन भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार यसअघि गुगलले युक्रेन र रुसमा पनि लाइभ ट्राफिक देखिने सुविधा बन्द गरेको थियो । इजरायलको स्थानीय सञ्चारमाध्यम गिकटाइमले सोमबार गुगलले लाइभ ट्राफिक अवस्थाको जानकारी दिन बन्द गरेको पत्ता लगाएको थियो ।

यससँगै बाटोको लाइभ ट्राफिक देखिने अन्य प्लेटफर्मबाट पनि यो फिचर अस्थायी रूपमा हटेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० १५:४४