close

एप्पल वाचमा अब दुई औंला जोडेकै भरमा कल उठाउन र काट्न सकिने

टेकपाना टेकपाना

कात्तिक ९, २०८० १६:१९

एप्पल वाचमा अब दुई औंला जोडेकै भरमा कल उठाउन र काट्न सकिने

काठमाडौं । एप्पलले वाच अल्ट्रा टु र वाच सिरिज नाइनमा हातका दुई औंला जोडेकै भरमा फोन उठाउन र काट्न सकिने फिचर उपलब्ध गराएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले बिहीवार एक्समा एक भिडिओ राख्दै उक्त फिचर उपलब्ध गराएको जानकारी दिएका हुन् ।

यसका लागि प्रयोगकर्ताले ती स्मार्टवाचमा वाच ओएस १०.१ अपडेट इन्स्टल गरेको हुनुपर्नेछ । प्रयोगकर्ताले उक्त फिचर प्रयोग गरी फोन उठाउन र काट्नुका साथै अन्य विविध काम पनि गर्न सक्नेछन् । 'म्याजिक, एट योर फिङ्गर टिप्स'का रूपमा चर्चा गरिएको यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले अलार्म तथा रिमाइन्डर बन्द गर्न समेत सक्नेछन् ।

त्यसबाहेक पनि आईफोनमा वाच कनेक्ट छ भने फोटो खिच्नका लागि प्रयोगकर्ताले दुई ओटा औंला जोडेकै भरमा फोटो खिच्न सक्छन् । टाइमर अन अफ गर्न पनि दुईओटा औंला एक आपसमा जोडे पुग्नेछ । त्यसका साथै वाचलाई स्मार्ट टीभीमा कनेक्ट गरेको छ भने प्रयोगकर्ताले टीभीमा भिडिओ प्ले पज गर्न वाच लगाएको हातका दुई ओटा औंला दुई पटक जोड्नुपर्नेछ ।

दुई ओटा औंला पनि प्रयोगकर्ताले बूढी र चोर औंला दुई पटक लगातार जोड्नुपर्ने हुन्छ ।

गत सेप्टेम्बर १२ मा आईफोन लाइनअप, एप्पल वाच अल्ट्रा टु र वाच सिरिज नाइन सार्वजनिक गर्ने क्रममा कम्पनीले ती दुवै मोडेलका स्मार्टवाचमा दुई ओटा औंलाको सहायताले स्मार्टवाच नियन्त्रण गर्न सकिने फिचर घोषणा गरेको थियो ।

वाच ओएस १०.१ एप्पल वाच सिरिज फोरभन्दा पछिका स्मार्टवाचका लागि उपलब्ध भए पनि डबल ट्याप फिचर पछिल्ला दुई मोडेलका स्मार्टवाचमा मात्र उपलब्ध भएको कम्पनीले जनाएको छ ।

डबल ट्याप फिचर प्रयोग गरेर स्मार्टवाचबाट आईफोन कन्ट्रोल गर्नका लागि आईफोनमा भने आईओएस १७ उपलब्ध भएको हुनुपर्नेछ । यो फिचरलाई प्रयोगकर्ताले सेटिङमा गएर डिसेबल गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० १६:२८