काठमाडौं । गुगलले ‘अबाउट दिस इमेज’ फिचर उपलब्ध गराउन थालेको छ । गुगल सर्चमा भेटिने कुनै पनि तस्वीर पहिलो पटक कहिले कसले अपलोड गरेको थियो भन्ने विषयको जानकारी दिने सो फिचर कम्पनीले बिहीवारदेखि उपलब्ध गराउन थालेको हो ।
गुगलले गत मे महिनामा आयोजित गुगल आईओ डेभलपर इभेन्टमा पहिलो पटक यस्तो फिचर ल्याउन लागेको घोषणा गरेको थियो । अहिले भने कम्पनीले उक्त फिचर अङ्ग्रेजी भाषामा गुगल प्रयोग गर्ने प्रयोगकर्तामाझ उपलब्ध गराउन थाकेको हो । यदि तपाईंको डिभाइमा उक्त फिचर उपलब्ध भयो भने गुगल इमेज रिजल्टमा भेटिएको तस्वीरको सबैभन्दा माथि तीन ओटा डट देखिन्छ ।
त्यही ट्याप गरेर फोटो कहिले अपडलोड भएको हो भन्ने देखिन्छ । कम्पनीका अनुसार ‘अबाउट दिस इमेज’ टुल कुनै पनि तस्वीरको उद्गम विन्दु (ओरिजिन) कुन हो ? त्यसको मेटाडेटा (उपलब्ध भएको सन्दर्भमा), र कुनै पनि फ्याक्ट चेकिङ साइटले त्यो तस्वीरलाई कसरी व्याख्या गरेका छन् भन्ने देखिन्छ ।
त्यसबाहेक पनि गुगल सर्चमा उक्त तस्वीर पहिलो पटक कहिले इन्डेक्स भएको थियो भन्ने विषयको जानकारी पनि सोही टुलबाट पाउन सकिनेछ । कुनै पनि तस्वीर एआईद्वारा निर्माण गरिएको हो, खिचिएको हो वा कसैले तोडमोड गरी बनाएको हो भन्ने जानकारी पनि त्यही टुलले उपलब्ध गराउनेछ ।
हमास र इजरायलको द्वन्द्वपछि सामाजिक सञ्जाल तथा गुगलमै पनि भ्रामक तस्वीर तथा समाचार अत्यधिक फैलिए । क्रियटरले असान्दर्भिक फोटो राखिदिंदा प्रयोगकर्ताहरू बढी त्रसित हुन थाले । त्यसैले गुगलले कुनै पनि तस्वीर कहाँबाट, कहिले र कसरी सार्वजनिक भएको हो भन्ने फेला पारिदिने एआई टुल सार्वजनिक गरेको बताएको छ ।
गुगल लेन्सबाट सहजै कहिलेदेखि यो टुल प्रयोग गर्न सकिन्छ वा सकिंदैन भन्ने विषयमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन । यद्यपि यो टुलको घोषणा गर्ने क्रममा कम्पनीले गुगल लेन्समा पनि उपलब्ध हुने बताएको थियो ।
त्यस्तै कुनै फोटोमा राइट क्लिक गरियो वा लङ प्रेस गरियो भने उक्त फिचर प्रयोग गर्न सकिने भनिएको छ । तर, द भर्जका अनुसार यो फिचर अहिले विकासका क्रममा छ । र, आगामी महिना सार्वजनिक हुने तरखरमा छ । त्यसैले सुरुवाती चरणमा गुगल सर्च रिजल्टमा भेटिएका तस्वीरको जानकारी मात्र हेर्न सकिनेछ ।
यो फिचर तथ्य जाँच गर्ने व्यक्ति, कन्टेन्ट क्रियटर र सर्वसाधारण प्रयोगकर्ताका लागि उपयोगी हुने बताइएको छ । विशेषगरी तस्वीरको स्रोत के हो भन्ने पुष्टि भएको सन्दर्भमा त्यस फोटोसँगै उपलब्ध गराइएको आर्टिकल कत्तिको सत्य हो भन्ने प्रमाणित गर्न सकिनेछ ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट प्रवाह भइरहेका सूचना भ्रामक र गलत हुन थालेपछि त्यसलाई पुष्टि गर्ने टुलका रूपमा गुगलले फ्याक्ट चेक एक्स्प्लोरर मा सुधार गरिरहेको छ ।