close

इजरायलको हमलापछि गाजा क्षेत्रमा ३६ घण्टासम्म इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

टेकपाना टेकपाना

कात्तिक १२, २०८० १२:३३

इजरायलको हमलापछि गाजा क्षेत्रमा ३६ घण्टासम्म इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा ३६ घण्टासम्म इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध भएकाे छ ।  गाजाको प्रमुखमध्येको एक सञ्चार सेवा प्रदायक कम्पनी पल्टेलले आइतबार एक्समा पोस्ट राख्दै इन्टरनेट तथा मोबाइल सेवा फिर्ता भएको जानकारी दिएको हो ।

यससँगै गाजा क्षेत्रमा आइतवारदेखि ल्यान्डलाइन, मोबाइल र इन्टरनेट सेवामा स्थानीयको पहुँच हुन थालेको छ । गाजा क्षेत्रको लडाकु समूह हमासले दुई साताअघि इजरायलमा आक्रमण गरेपछि दुई देशबीचको द्वन्द्वले चर्को रूप लिएको थियो । जसको परिमाणस्वरूप इजरायलले शुक्रबार प्यालेस्टाइनका टेलिकम प्रदायकमाथि बमबारी गरेको थियो ।

यसले गर्दा इन्टरनेट तथा मोबाइल सेवाको पूर्वाधार ध्वस्त भएको थियो । पूर्वाधार ध्वस्त हुँदा शुक्रवारदेखि त्यहाँका जनता इन्टरनेट तथा मोबाइल सेवा प्रयोग गर्नबाट पूर्ण रूपमा वञ्चित भएका थिए ।

“हाम्रा प्राविधिक टोलीहरूले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा आन्तरिक नेटवर्क पूर्वाधारमा भएको क्षतिलाई समाधान गर्न लागिपरेका छन्,” पल्टेलले विज्ञप्तिमा भनेको  छ ।

शनिवार स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कका मालिक एलन मस्कले एक पोस्ट गर्दै उक्त क्षेत्रमा रहेका सहायता एजेन्सीहरूलाई स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८० १२:३३