close

गीत सुनिरहेको बेला मोबाइल माग्दा साथीको हत्या !

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १०:३

गीत सुनिरहेको बेला मोबाइल माग्दा साथीको हत्या !

काठमाडौं । मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महरा हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा बस्ने २० वर्षीय पवन सहनी र २० वर्षीय हरिचरण मण्डललाई आइतवार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत बुधवार तीन युवक लागु औषध सेवन गर्न भारत पुगेका थिए । लागु औषध सेवन गरिसकेपछि उनीहरू नेपाल फर्किए ।

जनकपुरदेखि जटही छ लेन सडकमा रुपेशको मोबाइल मागेर हरिचरण गीत सुन्दै थिए । पछि रुपेशले आफ्नो मोबाइल फिर्ता माग्दा दुवैबीच विवाद चर्कियो । विवाद बढ्दै गएपछि हरिचरणले बाँसको भाटाले रुपेशको टाउकोमा प्रहार गर्दा उनी अचेत भएर ढलेका थिए ।

अचेत भएर ढलेका रूपेशलाई त्यहीं छोडेर हरिचरण र पवन फरार भए । स्थानीयले विहीवार बिहान ७ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान बारीमा रुपेशलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरे । 

त्यसपछि धनुषाबाट प्रहरी निरीक्षक विनयकुमार सिंहको कमाण्डमा तालिम प्राप्त कुकुर सहितको विशेष टोली अनुसन्धानका लागि घटनास्थलमा खटिएको थियो । घटनास्थलबाट मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी मृतककाे शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो । 

अनुसन्धानका क्रममा शनिवार प्रहरीले पवन सहनीलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि सोधपुछ गर्दा घटना हरिचरणले गरेको खुलेपछि प्रहरीले उनलाई समेत पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो । 

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १०:३