close

बिल गेट्सका पूर्व सहयोगी स्टिभ बाल्मर बने विश्वका पाँचौं धनाढ्य व्यक्ति

टेकपाना टेकपाना

कात्तिक १४, २०८० २१:४७

बिल गेट्सका पूर्व सहयोगी स्टिभ बाल्मर बने विश्वका पाँचौं धनाढ्य व्यक्ति

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सका पूर्व सहयोगी स्टिभ बाल्मरका लागि यो वर्ष निकै सुखद बनेकाे छ । कारण अहिले उनी संसारका धनाढ्य व्यक्तिको सूचिको पाँचौ स्थानमा उक्लिएका छन् ।

यो वर्षमा मात्रै २९ अर्ब डलरले उनको सम्पत्ती बढेर ११५ अर्ब डलर पुगेको छ । योसँगै ब्लुम्बर्ग बिलियनर्स इन्डेक्समा उनी पाँचौं स्थानमा अटाएका छन् । बाल्मर १९८० मा गेट्सको सहयोगीका रूपमा माइक्रोसफ्ट छिरेका थिए । यद्यपि व्यक्तिगत सहयोगीभन्दा पनि ‍व्यापार प्रबन्धकको रूपमा उनले बढी काम गरे । त्यसबेला वार्षिक ५० हजार डलर र मुनाफाको १० प्रतिशत रकम लिने सर्तमा उनी अनुबन्धित भएका थिए ।

तर पछि रकमभन्दा पनि उनले कम्पनीको शेयर लिन थाले । जुन निर्णयले नै उनलाई धनाढ्य बन्न सहयोग गर्यो । ‍ब्लुम्बर्ग बिलियनर्स इन्डेक्सका अनुसार चौंथाे स्थानमा रहेका गेट्स ६ अर्ब डलरले मात्र उनीभन्दा अगाडि छन् । त्यस्तै वारेन बफेट, मार्क जुकरबर्गभन्दा बाल्मर माथि छन् ।

गेट्सका भरपर्दो सल्लाहकार समेत रहेका बाल्मर सन् २००० देखि २०१४ माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत बने । उनले त्यो भूमिकाबाट अवकाश लिँदा उनीसँग माइक्रोसफ्टको ३३ करोड ३० लाख शेयर कित्ता वा कूल चार प्रतिशत थियो । यसबाट उनले वार्षिक रुपमा अर्बौं डलरको लाभांश समेत प्राप्त गर्ने बताइन्छ ।

उनको सम्पत्ति ह्वात्तै बढ्नुको कारण भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापक विस्तार हुनु हो । किनकी हाल माइक्रोसफ्टले च्याटजीपीटीको मातृ कम्पनी ओपन एआईमा ठूलो लगानी गरिरहेको छ ।

यसकारण स्वाभाविक रुपमा माइक्रोसफ्टको शेयरमूल्य पनि ह्वात्तै बढ्न पुग्यो । सोही कारण पछिल्लो १० महिनामा मात्रै माइक्रोफ्टको शेयरको मुख्य ३८ प्रतिशतले बढेको बताइन्छ ।

हाल बिल गेट्स सक्रिय रूपमा परोपकारमा संलग्न छन् । उनले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अन्य परोपकारी कार्यहरूमार्फत वार्षिक रुपमा लाखौं डलर दान गर्ने गरेका छन् । यसकारण पनि उनको सम्पत्ति तुलनात्मक रुपमा कम हुने गरेको छ । यस्तोमा यदि स्टिभ बाल्मरले सम्पत्तिमा गेट्सलाई उछिने त्यो दुर्लभ घटना हुने बताइन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० २१:४७