close

चालक कारबाहीमा परे किन मान्य हुँदैन नागरिक एपमा भएको लाइसेन्स ?

टेकपाना टेकपाना

कात्तिक १५, २०८० ११:११

चालक कारबाहीमा परे किन मान्य हुँदैन नागरिक एपमा भएको लाइसेन्स ?

काठमाडौं । पछिल्लाे केही दिनयता नागरिक एपमा लिङ्क हुने सवारी चालक अनुमति पत्र (लाइसेन्स) को चर्चा बढेको छ । कारबाहीमा नपरेको अवस्थामा ट्राफिकले लाइसेन्स माग्दा नागरिक एपमा रहेको लाइसेन्स देखाए पनि मान्य हुने भन्दै सोमवार नागरिक एपले एक विज्ञप्ति राखेकाे थियो । यसपछि धेरैले अब भाैतिक लाइसेन्स बोक्नु नपर्ने अड्कल काटे ।

त्यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले डिजिटल लाइसेन्स सामान्य चेकजाँचका क्रममा मात्र मान्य हुने बतायाे । तर, चालक कारबाहीमा परे वा सवारी नियम उल्लङ्घन गरेको खण्डमा सक्कली लाइसेन्स नै देखाउनुपर्ने भन्दै प्रस्ट पार्‍यो । यी दुई निकायबाट पोस्ट आएपछि धेरैलाई कारबाहीमा परे नागरिक एपमा भएको डिजिटल लाइसेन्स  किन मान्ने हुँदैन भन्ने जिज्ञासा बढेकाे छ, जुन स्वाभाविक हो ।

नागरिक एपमा लाइसेन्स लिङ्क गर्ने सुविधा धेरै समयअघि आइसकेको भए पनि ट्राफिक प्रहरीले त्यसलाई मान्यता दिएको थिएन । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रहरी प्रधान कार्यालयले निर्देशन दिएपछि काठमाडौं उपत्यकाको हकमा ट्राफिक प्रहरीले सामान्य जाँचबुझका क्रममा नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिन सुरु गरेको छ ।

“नागरिक एपमा भएको लाइसेन्स हेरेर सवारी चलाउने सो व्यक्ति लाइसेन्स प्राप्त व्यक्ति हो वा होइन भन्ने कुराको पुष्टि गर्नेसम्मको कार्यका लागि नागरिक एपको लाइसेन्स मान्य हुने नीति प्रयोगमा ल्याएका हौं,” उनले भने । 

यससँगै नागरिक एपमा लाइसेन्स लिङ्क छ र कुनै स्थानमा ट्राफिक चेकजाँच चलेको छ भने सम्बन्धित चालकले उक्त लाइसेन्स देखाए मान्य हुने उनको भनाइ छ । “ट्राफिक चेकजाँचको क्रममा कारबाही, जरिवाना वा दुर्घटनाको अवस्थामा लाइसेन्स मागिएको छ भने भौतिक (सक्कली) लाइसेन्स नै देखाउनुपर्ने हुन्छ,” उनले भने । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको संयोजनमा नागरिक एपको टिम र नेपाल प्रहरीको आईटी टिमले डिजिटल लाइसेन्सलाई पूर्ण तवरबाट प्रयोगमा ल्याउनका लागि काम गरिरहेको उनले सुनाए ।

“यसमा नागरिक एप, त्यसमा रहेको लाइसेन्स, ब्लुबुक र ट्राफिक उल्लङ्घन रेकर्ड सिस्टम जुन छ, यी सबैलाई एक आपसमा इन्ट्रिगेट गरेर ट्राफिक प्रहरीले चेकजाँच अथवा कारबाही गर्दा सडकमै इलेक्ट्रोनिक चिट जारी गर्नसक्ने र त्यहीँबाट सेवाग्राहीले जरिवाना तिर्न सक्ने किसिमको सिस्टमको विकास भइरहेको छ,” उनले भने, “यो विकासको काम सम्पन्न नहुने बेलासम्मका लागि अहिलेलाई लाइसेन्स होल्डर हो कि होइन भन्ने पुस्टि गर्न मात्र नागरिक एपको लाइसेन्स मान्य हुने काम अगाडि बढाएका छौं ।”

उनले अगाडि भने, “उक्त सिस्टम प्रयोगमा आइसकेपछि कुनै सवारी चालकको लाइसेन्स कारबाहीमा परेको छ वा छैन, कतिपटक कारबाहीमा परेको छ वा ब्लुबुकमा कारबाही भएको छ वा छैन सबै एपमार्फत हेर्न सकिने व्यवस्था हुनेछ । यसपछि लाइसेन्सलाई पूर्ण रूपमा मान्यता दिन सहज हुन्छ ।”

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० ११:२८