close

एप्पल इभेन्टको सबै दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको कम्पनीको दाबी

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १२:१२

एप्पल इभेन्टको सबै दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको कम्पनीको दाबी

काठमाडौं । एप्पलले मंगलबार आयोजना गरेको ‘स्क्यारी फास्ट’ इभेन्टको सम्पूर्ण दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको दाबी गरेको छ । युट्युबमा पर्दापछाडिको दृश्य (बिहाइन्ड द सिन) सार्वजनिक गर्दै कम्पनीले सम्पूर्ण दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको बताएको हो ।

सोमवार आयोजित एप्पल इभेन्टमा कम्पनीले आफ्नो अहिलेसम्मकै शक्तिशाली चिपसेट एम थ्री, म्याकबुक प्रो र आईम्याक सार्वजनिक गरेको थियो ।

२ मिनेट १६ सेकेन्डको सो भिडिओमा कुन दृश्य कसरी खिचिएको हो भन्ने देखाइएको छ । सो भिडिओमा कहीँकतै पनि अन्य क्यामेरा प्रयोग गरिएको देखाइएको छैन । जसरी क्यामेरालाई सेटअप गरिएको छ, त्यसरी नै आईफोन १५ प्रो म्याक्स डिभाइसलाई सेट गरिएको देख्न सकिन्छ ।

युट्युबर मर्किस ब्रन्लीका अनुसार यसका लागि कम्पनीले आईफोन र ब्ल्याक म्याजिक क्यामेरा एपको प्रयोग गरेको थियाे । सो भिडिओ स्तरीय बनाउन एप्पलले तीन विशेष कुरामा बढी काम गरेको थियाे । भिडिओ स्टेबलाइजेसन, सेट डिजाइन र लाइटिङ नै भिडिओ स्तरीय बन्नुको प्रमुख तीन कारण रहेको ब्रन्लीले उल्लेख गरेका छन् ।

कम्पनीले ड्रोनशट पनि आईफोन १५ प्रो र प्रो म्याक्सबाटै खिचेको दाबी गरेको छ । विशेषगरी ड्रोनमा सो मोडेल राखेर उडाएको बिहाइन्ड द सिनमा देख्न सकिन्छ । आईफोनबाट खिचिएको सम्पूर्ण दृश्यलाई म्याकबाट इडिट गरिएको कम्पनीले जनाएको  छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १२:१२