close

च्याटजीपीटी, गुगल बार्ड र बिङलाई चुनौती दिन अलिबाबाले ल्यायो नयाँ एआई मोडेल

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १४:५०

च्याटजीपीटी, गुगल बार्ड र बिङलाई चुनौती दिन अलिबाबाले ल्यायो नयाँ एआई मोडेल

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पछिल्लो संस्करणको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल सार्वजनिक गरेको छ । मंगलवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले टोङ्गी चिनवेन २.० ( Tongyi Qianwen 2.0) नामको लार्ज ल्याङ्ग्वेज मोडेल सार्वजनिक गरेको हो ।

चीनको सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ तथा ईकमर्स समेत रहेको अलिबाबाले तयार पारेको सो एआई टुलले अमेरिकी प्रविधि कम्पनीहरू माइक्राेसफ्ट, गुगल, अमेजन लगायतलाई चुनाैती दिने बताइएको छ । 

जसरी ओपनएआईले ठूलो सङ्ख्याको डेटाद्वारा जेनेरेटिभ एआई टुल च्याटजीपीटी विकास गरेको थियो, अलिबाबाले पनि त्यसरी नै लार्ज ल्याङ्ग्वेज मोडेलमा आफ्नो एआई टुल विकास गरेको जनाएको छ ।

गत अप्रिलमा सार्वजनिक भएको एआईको परिष्कृत स्वरूपमा कम्पनीले नयाँ संस्करणको एआई टुल ल्याएको हो । कम्पनीका अनुसार यो टुलले जटिलभन्दा जटिल कुरा बुझ्ने, कपिराइटिङ गर्ने, तार्किक जवाफ दिने, दिएका निर्देशन सम्झिने र प्रयोगकर्तालाई भ्रममा पर्नबाट जोगाउँछ । भ्रमबाट जोगाउने भन्नाले पछिल्लो समय एआई टुलले प्रयोगकर्तालाई गलत जवाफ दिएर भ्रमित बनाएका थुप्रै घटना छन् । त्यसैलाई मध्यनजर गर्दै अलिबाबाको एआई टुलले प्रयोगकर्तालाई विश्वसनीय जानकारीमात्रै दिने दाबी गरिएकाे छ ।

त्यसबाहेक पनि कम्पनीले केही विशेष उद्योग जस्तै; कानून परामर्श तथा वित्तीय संस्थालाई उपयुक्त हुने एआई टुलसमेत सार्वजनिक गरेको छ । साथै कम्पनीहरूलाई आफ्नै जेनेरेटिभ एआई टुल बनाउन सघाउने जेनएआई सर्भिस प्लेटफर्म पनि सार्वजनिक भएको छ । यसको सहायताले  कम्पनीहरूले आफ्नै डेटा उपलब्ध गराएर सो एआई टुललाई तालिम दिन सक्नेछन् । यस्तोमा उक्त कम्पनीले प्रयोगकर्ताबाट लिएको डेटा अन्य कुनै तेस्राे पक्षलाई उपलब्ध गराउने जोखिम उत्तिकै छ । 

पछिल्लो समय अलिबाबा र अन्य प्रमुख क्लाउड सेवा उपलब्ध गराउने कम्पनीले अन्य कम्पनीलाई सर्भिसका रूपमा त्यस्तो टुल उपलब्ध गराइरहेका छन्, जसले आफ्नै डेटा उपलब्ध गराएर एआईलाई तालिम दिन सक्छन् ।

माइक्रोसफ्टको लगानी रहेको ओपनएआई स्टुडियो र अमेजन वेब सर्भिसको बेडरक यस्तै सेवा उपलब्ध गराउने प्रमुख कम्पनी हुन् । त्यसैले अलिबाबाले यी कम्पनीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

चीनमा प्रभुत्व जमाएको कम्पनी अलिबाबाले अमेजन र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १४:५०