close

विश्वका हजारभन्दा बढी इथिकल ह्याकरहरूबीच प्रतिस्पर्धा हुँदै, नेपालबाट ५ जना सहभागी हुँदै

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १९:४

विश्वका हजारभन्दा बढी इथिकल ह्याकरहरूबीच प्रतिस्पर्धा हुँदै, नेपालबाट ५ जना सहभागी हुँदै

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्लाग’मा नेपालका पाँच जना ह्याकर छनोट भएका छन् । ८ अक्टोबरमा भएको १५ सय टिमबीच अनलाइनमा भएकाे क्वालिफायर राउन्डमा ८७औं स्थानमा परेर नेपाली ह्याकरको समूह ‘ह्याक एट सेक’ फाइनल चरणका लागि छनोट भएको हो ।

सीटीएफ इथिकल ह्याकरहरूबीच हुने प्रतिस्पर्धा हो, जसकाे आयोजनाका लागि ब्ल्याक ह्याट एमईए (मिडल इस्ट एन्ड अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइबर सेक्युरिटी एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) सँग सहकार्य गरेकाे छ । अन्तिम चरणकाे प्रतिस्पर्धाका लागि विश्वभरबाट १५०० बढी टिम सहभागी भएकोमा कूल २०० टिम छनोट भएका थिए । त्यही २०० टिमका हजारभन्दा बढी ह्याकरसँग पाँच नेपाली ह्याकरले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाललाई प्रतिनिधित्व गर्दै अन्तिम चरणमा छनोट भएको टिम ‘ह्याक एट सेक’ (Hack@Sec) मा विशाल अर्याल, प्रशान्त श्रेष्ठ, रोमियो कार्की, अनिश भट्टराई र निरज खतिवडा रहेका छन् । टिम लिडर विशाल अर्यालका अनुसार उक्त प्रतिस्पर्धामा जान सबै जनाको भिसा आइसकेको छ ।

“१४ देखि १६ नोभेम्बरमा साउदी अरेबियाको रियादमा उक्त प्रतिस्पर्धा हुँदैछ,” अर्यालले टेकपानासँग भने, “हामी १२ नोभेम्बरमा नेपालबाट जाँदैछौं ।”

प्रतिस्पर्धाका दौरान छनौट भएका सम्पूर्ण ह्याकरको टिमलाई विभिन्न सिस्टमहरू उपलब्ध गराइनेछ । र, उनीहरूले त्यही सिस्टमको कमजोरी पत्ता लगाएर सीटीएफ फ्ल्याग सङ्कलन गर्नुपर्ने हुन्छ । जसले सबैभन्दा बढी सीटीएफ पोइन्ट सङ्कलन गर्‍यो, उही नै विजेता बन्नेछ ।

विजेताले पुरस्कार स्वरूप एक लाख ८७ हजार डलर (करिब  दुई करोड ४८ लाख ५४ हजार रुपैयाँ) पाउनेछन् ।

“छनाेट चरणमा पनि हामीलाई विभिन्न सिस्टम दिएर त्यसमा कमजोरी पत्ता लगाएर सीटीएफ पोइन्ट कलेक्ट गर्नुपर्ने थियो,” उनले भने, “यदि वर्ल्ड वाइड टप १० मा परेको भए हाम्रो उडान खर्च र बस्ने खर्च आयोजकले नै ब्यहोर्ने थियो । तर, हामी शीर्ष ८७ मा परेकाले फाइनलमा सहभागी हुन पायौं, तर अन्य खर्च आफैंले ब्यहोर्नुपर्ने हुन्छ ।”

यसका लागि टिमले अहिले प्रायोजक (स्पोन्सर) खोजिरहेको छ । अर्यालले अगाडि भने, “साइबर सुरक्षामा रूचि राख्ने हजारौं मानिसहरूमाझ हामी जाँदैछौं । त्यसैले भिज्युअल वा अन्य रूपमा हामी हामीलाई प्रायोजन गर्नेहरूको प्रचार गरिदिन सक्छौं । यति ठूलो कार्यक्रममा छनौट हुनु र देशको प्रतिनिधित्व गरेर जानु नै सम्पूर्ण नेपालीका लागि  खुशीको कुरा हो । यसले आगामी पुस्तालाई पनि इथिकल ह्याकिङमा सक्रिय हुन प्रेरित गर्छ ।” 

सो टिमलाई प्रयोजन गर्न यो ईमेल विवरण ([email protected]) वा यहाँ क्लिक गरी लिङ्क्डइनमा जोडिन जोडिएर सम्पर्क गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १२:२०