काठमाडौं । इन्टरनेट प्रयोगकर्ता इन्स्टाग्राम रिल्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चर्चित बलिउड गीत 'गाइरहेको' सुनेर आनन्द लिइरहेका छन् । जहाँ मोदीले पलेंटी कसेर गिटार बजाउँदै गीत गाइरहेको तस्विर राखिएको छ ।
@ai_whizwires नाम गरेका एक क्रियटरले एआई प्रयोग गरी बनाएको उक्त भिडिओले ३६ लाख भ्युज पाइसकेको छ । "अपलोड गर्नु अघि (यो भिडिओ) म थोरै हडबडाएको थिएँ । तर यो लाइभ भइसकेपछि सबैले रमाइलो मानिरहेका छन्," राजनीतिक झमेलामा पर्न सकिने डरका कारण आफ्नो वास्तविक पहिचान खुलाउन नचाहेका @ai_whizwires ले रेस्ट अफ वर्डसँग भनेका छन् ।
निःशुल्क एआई भ्वाइस-क्लोनिङ टुलको उदयबाट यस्तै भारतीय पेजहरूले प्रयोगकर्ताको ध्यान खिच्न र भ्युज बटुल्न राजनीतिमा मनोरञ्जन र ट्रोलिङ मिसाउन पाएका छन् । पछिल्ला केही हप्तामा मोदीको डिजिटल रूपमा रेन्डर गरिएको आवाज हिन्दी भिडिओमा मात्र होइन, सामान्य तवरमा हिन्दी नबोलिने क्षेत्रका मानिसहरूलाई आकर्षित गर्न तमिल, तेलगू र कन्नड जस्ता दक्षिण भारतीय भाषामा समेत प्रयोग भइरहेको छ ।
राजनीतिक रणनीतिकार सागर विष्णोई मोदीका हिन्दी भाषणहरू सामान्यतया जनसङ्ख्याको ठूलो हिस्साले बुझ्न नसक्ने भएकाले भ्वाइस क्लोनिङको माध्यमबाट चुनावी अभियान सबै नागरिकसम्म पुग्न सक्ने बताउँछन् ।
"एआई भ्वाइस-क्लोनिङले भारतमा रहेको यस प्रकारको भाषागत कठिनाइलाई तोड्न सक्छ, जुन खासगरी उत्तरी र दक्षिणी भाषाको रूपमा विभाजित छ," उनी भन्छन्, "सन् २०२४ को चुनावका लागि एआई गेम-चेन्जिङ बन्न सक्छ ।" सन् २०२४ को भारतीय चुनाव एक अर्ब मतदाताका साथ विश्वकै ठूलो हुने अपेक्षा गरिएको छ ।
त्यहाँको गत निर्वाचनमा दशौं लाख मानिसहरूसम्म पुग्न थ्रीडी होलोग्रामका साथै सामाजिक सञ्जालमार्फत व्यापक क्याम्पेन चलाइएको थियो । तर अबका आउँदा वर्षहरूमा भने राजनीतिक निर्णयहरूलाई प्रभावित पार्ने कार्यमा एआईले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
भारतको भाषिक विविधताले भरिएका विभिन्न क्षेत्रहरूमा मोदी माथि वर्चश्व कायम गरिरहेको हिन्दी लाद्न खोजेको आरोप लाग्दै आएको छ । भर्चुअल एआई म्युजिक स्टुडियो मायक डट आईटीका सहसंस्थापक स्टेफन हेनरिक भन्छन्, "अब गैर-हिन्दी भाषीहरूले समेत सुन्न सक्ने भएपछि मोदीलाई उनीहरूको मन जित्न सहयोग मिल्नेछ ।"
मायक डट एआई अन्तर्गतको लोकप्रिय अमेरिकी भ्वाइस-क्लोनिङ टुल कभर्स एआई मोदीका थुप्रै मिम बनाउने कार्यमा प्रयोग भइरहेको छ । मिम बनाउनेहरू माझ अन्य लोकप्रिय भ्वाइस-क्लोनिङ टुलहरूमा किट्स डट आईओ र अडिओल्याब रहेका छन् ।
कभर्स एआईले डोनल्ड ट्रम्प, जो बाइडन, नरेन्द्र मोदी र जेर बल्सोनारोसहितका विश्वका १५ राजनीतिज्ञको भ्वाइस मोडेल उपलब्ध गराइरहेको छ । प्रयोगकर्ताले हप्तामा एउटा गीत मात्र निःशुल्क तयार पार्न सक्छन् । तर @ai_whizwires भने आफूले १५ ओटा जिमेल आईडी प्रयोग गरिरहेको बताउँछन् । "कमेन्टमा मानिसहरूले अझै धेरै गीत तयार पार्न अनुरोध गरिरहेका छन्," उनी भन्छन् ।