close

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार प्रणाली व्यवस्थित गर्न इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर सक्रिय

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १४:४९

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार प्रणाली व्यवस्थित गर्न इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर सक्रिय

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटीसी)लाई सक्रिय बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवा प्रदायकहरूले सेवालाई प्रभावकारी बनाउन सम्पर्क व्यक्ति तोक्ने र निरन्तर सम्पर्कमा रहने निर्णय पनि बैठकले गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रहरुबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए ।

बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार पत्रकार महासंघलगायत दूरसञ्चार तथा आम सञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८० १४:५२