काठमाडौं । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण भविष्यमा कसैले पनि काम गर्नु नपर्ने अवस्था आउने अभिव्यक्ति दिएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकसँगको एक एआई संवादमा मस्कले यस्तो धारणा राखेका हुन् ।
लण्डनको ल्यान्कास्टर हाउसमा प्रविधि उद्योगका व्यक्तिहरूबीच भएको उक्त कुराकानीमा मस्क र सुनकले एआईका सम्भावित फाइदा र जोखिमबारे चर्चा गरिएकाे थियाे ।
सोही क्रममा प्रधानमन्त्री सुनकले रोजगारीमा एआईको सम्भावित प्रभावको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका थिए । मस्कले भने इतिहासकै सबैभन्दा विनाशकारी शक्तिलाई देखिरहेको बताउँदै भविष्यमा मानिस राेजगारविहीन हुने धारणा राखे ।
“एउटा यस्तो विन्दु आउनेछ, जहाँ कुनै जागिरको आवश्यकता पर्दैन । यदि व्यक्तिगत सन्तुष्टिको काम गर्न कोही चाहन्छ भने पाइएला । त्यतिबेला सबै काम एआईले गर्नेछ,” मस्कले भनेका छन् । त्यस्तो अवस्था आउँदा मानव जातिका लागि राम्रो र नराम्रो दुवै हुने उनकाे विश्लेषण छ ।
प्रधानमन्त्री सुनकसँगको कुराकानीकै क्रममा युवाहरूका लागि उत्तम र सबैभन्दा धैर्यवान शिक्षकका रुपमा मस्कले एआईलाई अर्थ्याए । तर मानवजातिको लागि सम्भावित जोखिम एआई र मानवीय रोबोट हुने पनि उनले चित्रण गरेका छन् ।
संसारका धनाढ्य मस्क र बेलायती प्रधानमन्त्री सुनकबीचको ५२ मिनेट लामो कुराकानीमा एआईको फाइदा र जोखिमबाहेक प्रविधि उद्योगको नियमन र लगानीबारे समेटिएको छ । उनीहरूको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् ।