close

प्रविधि क्षेत्रलाई नजिकबाट अध्ययन गर्न चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ९ पुस्तक

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १८:४७

प्रविधि क्षेत्रलाई नजिकबाट अध्ययन गर्न चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ९ पुस्तक

काठमाडौं । विश्व अहिले प्रविधिमय भइसकेको छ । हरेक क्षेत्रमा प्रविधिको आवश्यकता पर्छ । थोरबहुत यसको ज्ञान राख्नु अनिवार्य जस्तै भइसकेको छ ।

हामी प्रविधिभन्दा पर रहेर दैनिकी चलाउन नसक्ने अवस्था कसरी सिर्जना भयो ? यसका मुख्य खेलाडीहरू को हुन् ?  प्रविधिको इतिहास के हो ? यसका क्षेत्र केके हुन् ? लगायतका विषयमा थुप्रै पुस्तक लेखिएका छन् । जुन सामान्य मान्छे, जो प्रविधिसँग सम्बन्धित छैनन्, तिनले पनि बुझ्न सक्छन् । यसकारण प्रविधि क्षेत्रलाई गहिरो गरी बुझ्न ती पुस्तक तपाईँले किन्न वा कसैलाई उपहारमा दिन सक्नुहुन्छ ।

आज हामी यस क्षेत्रमा जीवन होमेका व्यक्तिको जीवनीदेखि कुनै उत्पादनको व्यापारिक कथा समेटिएका पुस्तकबारे जानकारी दिँदै छौं:


१. द सउल अफ न न्यू मसिन

अमेरिकी लेखक ट्रेसी किडरद्वारा लिखित यो पुस्तक पुलित्जर पुरस्कार विजेतासमेत हो । पहिलो पटक सन् १९८१ मा प्रकाशित पुस्तकमा १९७० को दशकतिर अर्को पुस्ताको मिनीकम्प्युटर डिजाइन र सार्वजनिक गर्न गरिएको प्रयासबारे चर्चा गरिएको छ ।

सोही दशकमा कम्पनीको व्यवस्थापनमा बसेका र काम गरिरहेका इन्जिनियरहरूको कथालाई लेखकले समेटेका छन् । अर्थात् विकासको गति उच्चतम हुँदै गरेको समयमा प्रविधि कम्पनीहरूमा काम गर्ने वातावरण कस्तो थियो भन्ने कुराको जवाफ यसले दिन्छ ।

समग्रमा कम्प्युटरको सुरुवाती दिनहरूको समयलाई कैद गरिएको पुस्तक हो यो । सँगै हाम्रो जीवनमा त्यस मसिन (कम्प्युटर) ले कसरी प्रभुत्व जमाउन पुग्यो भन्ने जिज्ञासा मेट्न लेखकले पुस्तकमा प्रयास गरेका छन् । 

२. स्टिभ जब्स

यो प्रसिद्ध प्रविधि व्यक्ति तथा एप्पलका सह-संस्थापक स्टिभ जब्समाथि लेखिएको जीवनी हो । जब्सको मृत्यु भएको १९ दिनपछि प्रकाशन भएको पुस्तकमा उनको जीवन र विरासतबारे चर्चा गरिएको छ ।

पुस्तक लेख्‍नका लागि लेखक लेखक वाल्टर आइज्याक्सनलाई जब्सले ४० बढी अन्तर्वार्ता दिए । तर, आइज्याक्सनले तयार पारेको अन्तिम खेस्रामा कुनै नियन्त्रण गरेनन् । पुस्तक सामान्य भाषामा लेखिएको छ । यसले गर्दा जोकोहीले पनि जब्सको जीवनी पढ्न सक्छन् ।

पुस्तकभित्र एप्पल र पिक्सारको उदय, म्याक/आईट्युन/आईफोन/आईप्याडको विकास जस्ता विषय वस्तु समेटिएको छ । 

३. सो यु एभ बिन पब्लिक्ली शेम्ड 

बेलायती पत्रकार जोन रोन्सनद्वारा लिखित यस पुस्तकले इन्टरनेटको अँध्यारो पक्षलाई देखाउने प्रयास गरेको छ । लेखक रोन्सनले अनलाइन हिंसा (अनलाइन शेमिङ) मा परेका मानिसहरूको कथा पुस्तकमार्फत भनेका छन् ।

सामाजिक सञ्जालको युगमा उनको पुस्तक समय सान्दर्भिक र महत्त्वपूर्ण भएको बताइन्छ । पुस्तकमा उनले अनलाइन शेमिङको मनोविज्ञान, पीडितहरूको कथाजस्ता विषय समेटेका छन् ।

इन्टरनेटको अँध्यारो पक्ष र सामाजिक सञ्जालले मानव जीवनमा पार्ने प्रभावलाई बुझ्न चाहनेका लागि यो पुस्तक उपयोगी हुन सक्छ ।

४. इन द प्लेक्स: हाउ गुगल थिङ्क्स, वर्क्स एन्ड शेप्स आवर लाइभ्स

एउटा त्यस्तो कम्पनी, जसको नाम नै क्रियापद बन्न पुग्यो- गुगल । त्यही कम्पनीको आन्तरिक कुराहरू समेटेर स्टेभन लेभीले यो पुस्तक लेखेका हुन् । यसमा पुस्तकको नामजस्तै गुगलको प्रभाव, गुगलले काम गर्ने तरिका, सामान्य कम्पनीदेखि संसारको सबैभन्दा ठूलो प्रविधि बन्न गरेको संघर्ष लगायतका विषय समेटिएका छन् ।

लेखकले गुगल र यसका उत्पादनले संसारलाई कसरी परिवर्तन गरेको छ, नयाँ क्षेत्रमा सफल हुन कम्पनीलाई केके चाहिन्छ जस्ता प्रश्नहरूको उत्तर खोतल्ने प्रयास गरेका छन् । यदि तपाईंलाई गुगलबारे अझै धेरै जान्न चाहनुहुन्छ भने यो पठनीय पुस्तक हो ।


५. ब्याड ब्लड: सिक्रेट्स एन्ड लाइज् इन अ सिलिकन भ्याली स्टार्टअप

सिलिकन भ्यालीमा रहेको एलिजाबेथ होम्स र थेरानोस नामक एउटा स्टार्टअपको झूटको कथा यस पुस्तकले बताएको छ । उक्त कम्पनीले रगत परीक्षणमा क्रान्ति ल्याउने बताएर लाखौं डलर लगानी उठाएको थियो । तर अन्त्यमा थेरानोसको प्रविधि गलत निस्कियो । र, कम्पनी असफल भयो ।

साथै सञ्चालक ११ वर्षसम्म जेल चलान हुन पुगे । पुस्तकका लेखक जोन क्यारेराउले तिनै घटनाक्रममा आधारित रहेर पुस्तक लेखेका छन् । पुस्तकमार्फत लेखकले महत्वाकांक्षाको पछि लाग्दा सावधानी अपनाउनु पर्ने पक्षलाई केलाएका छन्, जुन प्रविधि क्षेत्रमा धेरै हुने गर्छ ।

६. एन अग्ली ट्रुथ: इन्साइड फेसबुक्स ब्याटल फोर डोमिनेसन 

गलत सूचना फैलाउन र तिनलाई हेरफेर गर्न फेसबुक कसरी सफल भयो भन्ने विषयलाई यस पुस्तकले प्रकाश पारेको छ । शीरा फ्रेन्केल र सेसिलिया काङ्गद्वारा लिखित यस पुस्तकमा आफ्नो प्रयोगकर्ताको संख्या बढाउन र तिनलाई सक्रिय राखिराख्न फेसबुकले खेलेको खेल उजागर गरिएको छ ।

प्रयाेगकर्ताकाे गोपनीयतामाथि खेलवाड गरेको र फेसबुकमा तथ्य जाँचलाई बहिष्कार गरेको पक्षलाई पनि उत्तिकै केलाइएको छ  । एउटा सामाजिक सञ्जालको कम्पनीले कसरी आफ्नो प्रयोगकर्ताको डेटा प्रयोग गरेर अगाडि बढिररहेको छ भनेर जान्न यो पुस्तक उपयोगी हुन्छ ।

७. मिम वार्स: द अनटोल्ड स्टोरी अफ त अनलाइन ब्याटल्स अपेन्डिङ डेमोक्रेसी इन अमेरिका

हामीले विभिन्न सामाजिक सञ्जालमा देख्ने मिमहरू मनोरञ्जनका साधनमात्र नभएर सांस्कृतिक तथा साम्प्रदायिक युद्धको हतियार बनिरहेका छन् ।  यस पुस्तकमा मिमको इतिहास, तिनको प्रयोग र अवस्थाबारे चर्चा गरिएको छ ।

कट्टरपन्थी, अतिवाद, गलत सूचना जस्ता पक्षमा मिमले खेलेको भूमिकाबारे सविस्तार व्याख्या गरिएको छ ।

पुस्तकले हाम्रो पछिल्लो समयको डिजिटल संस्कृति र आधुनिक लोकतन्त्रमाथि प्रश्नहरू गरेको छ । तीन लेखक जोन डोनोभन, एमिली ड्रेफस र ब्रायन फ्राइडबर्गले लेखेकाे यस पुस्तकले रमाइलो मान्दै बनाउने/हेर्ने मिमको अर्को पाटोलाई देखाएको छ । 

 

८. द कोड: सिलिकन भ्याली एन्ड द रिमेकिङ अफ अमेरिका

एउटा सानो ठाउँले कसरी प्रविधिको संसारमा तहल्का मच्चाउँछ ? यही प्रश्नको उत्तरको खोजीमा छ यो पुस्तक । प्रविधि क्षेत्रमा सगरमाथा चुमेको सिलिकन भ्याली कुनै जादुले नबनेको तथ्यलाई औल्याउँदै लेखक मार्गरेट ओ'माराले अनुसन्धान र विकासमा गरिएको लगानीले भएको तथ्यलाई प्रस्ट पार्ने प्रयास गरेका छन् ।

त्यसका लगि पुस्तकमा उनले अन्तर्वार्ता, जीवनीहरू र विभिन्न स्रोत राखेका छन् । प्रविधि जगतलाई सिलिकन भ्यालीको योगदान अथवा स्वयं सिलिकन भ्यालीको इतिहास थाहा पाउन यो पुस्तक सान्दर्भिक हुन सक्छ ।

९. रेस आफ्टर टेक्नोलोजी: एबोलिटनिस्ट टुल्स फोर द न्यू जिम कोड

२०१९ मा प्रकाशित यस पुस्तकमा वर्गविभेद, जातिवाद र सामाजिक असमानतालाई प्रविधिले कसरी बढावा दिइरहेको छ भनेर चित्रण गरिएकाे छ । पुस्तकमार्फत लेखिका रुहा बेन्जामिनले एआई र एल्गोरिदम पनि पक्षपाती हुनसक्ने र तिनले माथिका मुद्दाहरूलाई फैलाउन सहयोग गर्नसक्ने उल्लेख गरेकी छिन् ।

उनले पुस्तकमार्फत तिनलाई निराकरण गर्न गरिएको प्रयासको कमजोरी र समाधान उपायहरू पनि प्रस्तुत गरेकी छिन् । प्रविधि र समाजका विभिन्न मुद्दामा रुचि राख्नेहरूका लागि यो पुस्तक उपयोगी हुन सक्छ ।

यी बाहेक प्रविधि क्षेत्रलाई बुझ्न बजारमा थुप्रै पुस्तक उपलब्ध छन् । तपाईंले अमेजन अनबाउन्ड, सामसङ राइजिङ, अगेन्ट टेक्नोबोलिजम्, एलन मस्क, ह्याचिङ ट्वीटर लगायतका पुस्तक पढ्न सक्नुहुन्छ ।

वाइअर्डबाट

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:४