close

आईफोन १४ प्रो म्याक्सको तुलनामा आईफोन १५ प्रो म्याक्सको उत्पादन खर्च ५ हजार रूपैयाँ मात्र बढी

टेकपाना टेकपाना

कात्तिक २५, २०८० २०:३७

आईफोन १४ प्रो म्याक्सको तुलनामा आईफोन १५ प्रो म्याक्सको उत्पादन खर्च ५ हजार रूपैयाँ मात्र बढी

काठमाडौं । हालैको अध्ययनले आईफोन १४ प्रो म्याक्सको तुलनामा आईफोन १५ प्रो म्याक्स उत्पादन गर्न ३७.७ डलर (करिब पाँच हजार रुपैयाँ) मात्र महङ्गो परेको देखिएको छ । बजारबारे अध्ययन गर्ने संस्था काउन्टर पोइन्ट रिसर्स संस्थाले यी फोनहरूको बिल अफ मटेरियर्स (बीओएम) निकाल्दै यस्तो नतिजा सार्वजनिक गरेको हो ।

काउन्टर पोइन्टका अनुसार ६ +२५६ जीबी भेरियन्टको आईफोन १४ प्रो म्याक्सको तुलनामा ८+२५६ जीबी भेरियन्टको आईफोन १५ प्रो म्याक्स बनाउन जम्मा ८ प्रतिशत बढी मूल्य पर्छ । एप्पलको गत वर्षको फ्ल्यागशिप फोनको तुलनामा नयाँ फ्ल्यागशिप बनाउन खासै खर्च नभएपनि मूल्यमा भने आकाशपातालको अन्तर छ ।

अहिले बजारमा आईफोन १४ प्रो म्याक्सको मूल्य १०९९ डलर र आईफोन १५ प्रो म्याक्सको मूल्य ११९९ डलर रहेको छ । यसो हुँदा यी फोनको बजारमा मूल्यबीच १०० डलर (करिब १३ हजार रुपैयाँ)ले फरक पाउन सकिन्छ ।

तर ए१६ प्रो प्रोसेसरको तुलनामा  ए१७ प्रो प्रोसेसर ३० डलरले महङ्गो पर्ने, आईफोन १४ प्रो म्याक्सको तुलनामा ३४ प्रतिशतले आईफोन १५ प्रो म्याक्सको क्यामेरा प्रणाली महङ्गो पर्ने, आईफोन १४ प्रो म्याक्समा भएको स्टेनलेस स्टिल फ्रेमभन्दा नयाँ टाइटानियम फ्रेम १८ प्रतिशतले महङ्गो पर्ने काउन्टर पोइन्टले उल्लेख गरेको छ ।

यद्यपि आईफोन १४ प्रो म्याक्सको तुलनामा आईफोन १५ प्रो म्याक्समा भएको मेमोरी चिप र डिस्प्लेमा एप्पलको कम खर्च भएको काउन्टर पोइन्टको विश्लेषण छ । सोहीकारण आईफोन १५ प्रो म्याक्सले एप्पललाई ठूलो नाफा दिनसक्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० २०:४२