close

सार्वजनिक भएयता झण्डै १० अर्ब गुमेपछि बन्द हुने अवस्थामा ट्रम्पको ‘ट्रुथ सोसल’

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १९:२४

सार्वजनिक भएयता झण्डै १० अर्ब गुमेपछि बन्द हुने अवस्थामा ट्रम्पको ‘ट्रुथ सोसल’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएकाे सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ दयनीय अवस्थामा पुगेकाे छ । एप सार्वजनिक भएयता ७३ मिलियन डलर अर्थात् झण्डै १० अर्ब रूपैयाँ गुमेपछि याे प्लेटफर्म बन्द हुने अवस्थामा पुगेकाे हाे ।

डिजिटल वर्ल्ड एक्विजिसन कर्पले कम्पनी गाभ्ने सिलसिलामा सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा बुझाएको कागजपत्रमा यो कुरा उल्लेख गरेकाे छ । यस अनुसार २०२२ काे सुरूवातदेखि २०२३ काे मध्यसम्म कम्पनीले याे रकम गुमाएकाे हाे । 

रोयटर्सका अनुसार २०२३ को सुरूवाती ६ महिनामा मात्रै ट्रुथ साेसलले २३ मिलियन डलर गुमाएको छ । अब यस्तै अवस्था रहिरहे प्लेटफर्म चलाउन नसक्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)को लेखा परीक्षकले बताएको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै प्लेटफर्मका लागि थप लगानी उठाउने सम्भावना न्यून रहेको समेत बताइएको छ ।

एक्स (तत्कालीन ट्वीटर) र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूले आफूलाई प्रतिबन्ध लगाएपछि ट्रम्पले अक्टोबर २०२१ मा आफ्नो सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० १९:२४