close

टिकटक प्रतिबन्ध विरुद्ध परेका सबै रिटमाथि मंसिर ४ गते सुनुवाइ हुने

टेकपाना टेकपाना

मंसिर १, २०८० १५:५९

टिकटक प्रतिबन्ध विरुद्ध परेका सबै रिटमाथि मंसिर ४ गते सुनुवाइ हुने

काठमाडौँ । टिकटक प्रयोगमा रोक लगाउने नेपाल सरकारको निर्णयविरूद्ध परेका रिट निवेदनमाथि आगामी मंसिर ४ गते सुनुवाइ हुने भएको छ । शुक्रबार दर्ता भएका १० ओटा रिट निवेदनका लागि सर्वोच्च अदालतले पहिलो पेशी तोकेको हो ।

दर्ता भएका सबै रिटउपर एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने बताइएको छ । गत सोमवारको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव बिगारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । यसलगत्तै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

सरकारको कदमपछि वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकार अगाडि बढ्न खोजेको भन्दै सार्वजनिक वृत्तमा आलोचना र विरोध भइरहेको छ ।

यसै सन्दर्भमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल, डा. सुनील रञ्जन सिंह, सरिता थापा लगायतले सरकारको निणय खारेजीको माग राख्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको उक्त निर्णयले संविधानको धारा १७ (१), (२) (क), १९, २७,  ३३, र ४६ को गम्भीर उलङ्घन गरेको दाबी उक्त मुद्दामा गरिएको छ । उनीहरूले टिकटकलाई व्यवस्थित, नियन्त्रण र नियमनका लागि विधिवत रूपमा नेपालमा दर्ता गरी सञ्चालनका लागि निर्णय गर्नुपर्नेमा तत्काललाई रोक लगाउने निर्णय गरेको भन्दै उनीहरूले त्यसबाट आमनेपालीको अभिव्यक्ति स्वतन्त्रताको हक, सूचनाको हक, समाचारको हक समेतबाट वञ्चित गरेको उल्लेख गरेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८० १७:३३