close

टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी बनाउन फ्रि भीपीएन र ओपन डीएनएस समेत बन्द गराउँदै सरकार

टेकपाना टेकपाना

मंसिर ४, २०८० १४:९

टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी बनाउन फ्रि भीपीएन र ओपन डीएनएस समेत बन्द गराउँदै सरकार

काठमाडौं । टिकटकमाथिको प्रतिबन्धलाई प्रभावकारी बनाउन सरकारले निःशुल्क भीपीएन र ओपन डीएनएस माथि समेत रोक लगाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र टिकटकमाथिको रोक लगाउन भएभरका सम्पूर्ण उपाय लगाउने तयारी थालेको हो । 

२७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले नेपालमा पछिल्लो समय सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पुर्‍याएको भन्दै सरकारले यस्तो निर्णय लिएको हो । 

टिकटकमाथि प्रतिबन्ध लागेसँगै प्रयोगकर्ताहरू भने निःशुल्क भीपीएन तथा ओपन डीएनएस जस्ता वैकल्पिक उपाय समेत प्रयोग गरेर टिकटक चलाउन थालेका छन् । जसले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई नै चुनौती दिएको भन्दै प्राधिकरण त्यस्ता वैकल्पिक उपायमा समेत रोक लगाउने दिशामा अगाडि बढेको हो । 

निःशुल्क रूपमा उपलब्ध भीपीएन र गुगल तथा क्लाउडफ्लेयर जस्ता ओपन डीएनएसमाथि प्रतिबन्ध लगाउने गृहकार्य भइरहेको प्राधिकरण स्रोतले जनायो । “हामीलाई सरकारबाट टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी रूपमा लागु गर्नुपर्ने स्पष्ट म्यान्डेड आएको छ,” प्राधिकरणका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “त्यसका लागि हरसम्भव विकल्पहरूको बारेमा सोच्नु स्वभाविक नै हुन्छ ।”

गुगल र क्लाउड फ्लेयरका ओपन डीएनएस विश्वभर लोकप्रिय र विश्वसनीय रहेको भन्ने सन्दर्भमा प्राधिकरणका ती अधिकारीले नेपालका इन्टरनेट सेवा प्रदायकको डीएनएस असुरक्षित र अविश्वसनीय रहेको भन्न नमिल्ने तर्क गरे । प्राधिकरण स्रोतका अनुसार अहिले त्यस्ता निःशुल्क भीपीएन तथा तिनको आईपी एड्रेस संकलन गर्ने कार्य भइरहेको छ । 

मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले आफ्नो सर्भरमा त्यस्ता भीपीएनलाई ब्लक गर्ने बताइएको छ । जथाभाबी रूपमा निःशुल्क भीपीएन र ओपन डीएनएसको प्रयोगले प्रतिबन्धलाई बाइपास मात्र गर्ने नभई स्वयं प्रयोगकर्तालाई नै साइबर सुरक्षा जोखिममा पुर्‍याउने खतरा समेत रहेको प्राधिकरणका अधिकारीहरूको विश्लेषण छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० १४:१०