close

ब्राेडवे इन्फाेसिसले पायाे एसिया प्रशान्त क्षेत्रकाे ‘एडटेक अवार्ड २०२३’

टेकपाना टेकपाना

मंसिर ५, २०८० १४:३७

ब्राेडवे इन्फाेसिसले पायाे एसिया प्रशान्त क्षेत्रकाे ‘एडटेक अवार्ड २०२३’

काठमाडौं । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ अवार्ड प्राप्त गरेकाे छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) को आयोजनामा दक्षिण कोरियाको सियोलमा नोभेम्बर १३ देखि १५ सम्म भएको ‘एसोसिओ डिजिटल शिखर सम्मेलन २०२३’ मा ब्रोडवे इन्फोसिसलाई एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एसोसिओ एडटेक अवार्ड २०२३’ प्रदान गरिएको हो ।

व्यावसायिक आईटी तालिममार्फत शिक्षा तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई देशको डिजिटल रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै ब्रोडवे इन्फोसिसलाई उक्त अवार्ड प्रदान गरिएको हो । एक समाराेहमा एसोसिओका अध्यक्ष ब्रायन शेनले अवार्ड हस्तान्त्रण गरे ।

ब्रोडवेका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका थिए । साे अवसरमा एसोसिओका उपाध्यक्ष नवराज कुँवरसहित उक्त संस्थाका विशिष्ट अधिकारीहरू र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रञ्जित पोद्दार समेतकाे उपस्थिति रहेको थियो । 

याे पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभएर नेपालमा समस्त आईटी परिदृश्यमा परेको राम्रो प्रभावको प्रमाण भएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए ।

साेही अवसरमा नेपालकाे अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सलाई डिजिटल ट्रान्सफरमेसन अवार्डले सम्मान गरिएको थियो ।

एसोसिओले हरेक वर्ष आफ्ना प्रत्येक सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । एसोसिओमा न्युजिल्यान्ड, जापान, अष्ट्रेलिया, भारत, सिङ्गापुर, चीन, नेपालसहित विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घसंस्था सदस्यको रूपमा रहेका छन् । एसोसिओमा नेपालकाे तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सदस्यका रूपमा रहेको छ ।

सन् १९८४ मा स्थापना भएकाे एसोसिओमा हाल नेपालका नवराज कुँवर उपाध्यक्ष रहेका छन् । कुँवर क्यान महासंघका निवर्तमान अध्यक्षसमेत हुन् ।एसोसिओमा हाल इन्फर्मेशन सर्भिस इन्डष्ट्री एसाेसियसन ताइवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेकाे छ, जसमा नेपालसहित जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधि छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १५:५१