close

फोनमा कुरा गर्दा नेटवर्क राम्ररी टिप्दैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर ७, २०८० १०:४७

फोनमा कुरा गर्दा नेटवर्क राम्ररी टिप्दैन ? यसो गर्नुहोस्

काठमाडौं । सञ्जालैसञ्जाल भएको संसारमा हामी बाँचिरहेका छौं । आजको दिनमा हाम्रो डिभाइसले सिग्नल टिपेन भने कुनै पनि सामाजिक सञ्जाल चलाउन सक्दैनौं । फोनमार्फत एकअर्कासँग कुराकानी गर्न सक्दैनौं । सायद कतै न कतै आफ्नो मोबाइलले राम्ररी सिग्नल नसमातेको तपाईंले महसुस गर्नुभएकै होला ।

खराब मौसम वा दुर्गम क्षेत्रहरू बाहेक तपाईंसँग भएको मोबाइलको मोडेल र मोबाइल नेटवर्क सेवाप्रदायकको सेवाको प्रकारले पनि यो कुरामा भूमिका खेल्छ । त्यस्तो अवस्थाको अनुभव सडकमा जाम पर्दा जस्तो हुन सक्छ । आज हामी मोबाइल फोनमा सिग्नल जाने कारण र त्यसो हुन नदिन गर्नुपर्ने कुराबारे चर्चा गर्दै छौं ।  

आफ्नो मोबाइल नेटवर्कलाई सुधार गर्न निम्न अनुसारको तरिका अपनाउन सक्नुहुन्छ: 

-यताउता गर्ने 

कहिलेकाहीँ आफू बसेको ठाउँबाट यताउता सर्दा समेत नेटवर्क टिप्न सक्छ । किनकी तपाईंको बसेको ठाउँमा अन्य वस्तुले नेटवर्कलाई अवरोध गरिरहेको हुन सक्छ । जस्तो; बाक्लो बस्तीमा भएको घरको ग्राउन्डफ्लोरभन्दा माथिल्लो तलामा राम्ररी नेटवर्क टिप्छ । 

-फोनको केस हटाउने  

फोनमा निकै मोटो केस (कभर) भएको खण्डमा समेत फोनको एन्टेनाले राम्ररी काम गर्दैन । यस्तो बेला कहिलेकाहीँ मोबाइलमा नेटवर्क नटिप्न सक्छ । बाक्लो र कडा खालका कभर छ भने त्यसलाई हटाउँदा नेटवर्क राम्ररी टिप्न सक्छ ।

-फोनमा पर्याप्त चार्ज गर्ने

नेटवर्क खोज्न तथा जोडिनमा मोबाइलमा ब्याट्री खर्च भइरहेको हुन्छ । त्यसो हुँदा ब्याट्री कम भएको बेला अर्थात् फोनमा पर्याप्त चार्ज नभएको बेला फोनले नेटवर्कसँग टिप्न सक्दैन । त्यसकारण नेटवर्कका लागि भए पनि चार्ज गर्न आवश्यक छ । 

-एयरप्लेन मोड प्रयोग गर्ने

फोनको नेटवर्क बन्द गरेर पुन: फर्काउने यो सबैभन्दा सजिलो र छोटो तरिका हो । मोबाइलमा एयरप्लेन मोड ‘एक्टिभ’ गर्दा फोनमा सबै प्रकारका सिग्नल बन्द हुन्छन् । अर्थात् यस मोडले वाई-फाई, ब्लुटुथ तथा मोबाइल नेटवर्कलाई रिस्टार्ट गर्छ ।

यदि तपाईँ एउटाबाट अर्को स्थानमा गइरहनु भएको छ भने त्यहाँ पुगेर यो मोड प्रयोग गर्नुहाेस् । त्यसो गर्दा मोबाइलले उक्त क्षेत्रमा भएको बलियो सिग्नल पत्ता लगाउँछ । एन्ड्रोइड फोनमा ‘क्विक सेटिङ प्यानल’ र आईफोनमा ‘कन्ट्रोल सेन्ट्रर’मा एयरप्लेन मोड पाउन सकिन्छ ।

-मोबाइल रिस्टार्ट गर्ने 

यदि एयरप्लेन मोडले काम गरेन भने फोन रिस्टार्ट गर्नुहाेस् । फोन सानो आकारको कम्प्युटर नै हो । यसकारण नेटवर्क राम्ररी नटिप्ने जस्ता साना समस्या रिस्टार्ट गरेको भरमा समाधान गर्न सकिन्छ ।

एन्ड्रोइडमा रिस्टार्ट गर्न केही सेकेन्डका लागि पावर बटन थिच्नुहोस् । त्यहाँ रिस्टार्ट देखिन्छ, त्यसमा ट्याप गर्नुहोस् । आईफोनमा भने पावर अफको विकल्प देखा नपरुञ्जेल साइड बटन थिचिरहनुपर्छ । अनि स्लाइडरलाई ड्र्याग गरेर आईफोन अफ गर्न सकिन्छ ।

अन गर्न पुन: सही यही तरिका अपनाउन सकिन्छ । यदि फोन अफ/अन भएन भने फोर्स रिसेट गर्न सक्नुहुन्छ । आईफोनको मोडेल अनुसार यसको तरिका फरक हुन्छ । यसबारे यहाँ क्लिक गरेर बुझ्न सक्नुहुन्छ । 

-सिम कार्ड निकाल्ने

मोबाइलमा नेटवर्क नटिप्ने समस्या समाधान गर्ने अर्को तरिका मोबाइल फोनबाट सिम कार्ड निकाल्नु हो । यसो गर्दा फोहोर भएको सिम कार्डलाई सफा गर्न पनि पाइन्छ ।

कतिपय अवस्था सिम कार्डको समस्याले पनि नेटवर्क नटिप्न सक्छ । तर ईसिम फोनबाट निकाल्न नसकिने भएकाले तपाईंले फोन रिस्टार्ट  गर्न सक्नुहुन्छ ।  

-फोनको क्यारियर सेटिङ जाँच गर्ने

कल, डेटा तथा मेसेजको कनेक्टिभिटी सुधार गर्न मोबाइल क्यारियर सेटिङहरूमा अपडेटहरू आइरहेको हुन्छ । सबै आईफोन मोडेलहरूमा यो फिचर उपलब्ध छ । तर एन्ड्रोइडले भने सबै ठाउँमा यो फिचर दिएको छैन ।

त्यसो हुँदा तपाईंले बोकिरहेको हातको फोनमा क्यारिअर सेटिङ नहुन सक्छ । यदि फोनमा यो फिचर छ भने स्वत: त्यस्तो अपडेट आए पपअप मेसेज पनि आउँछ ।

यसबाहेक तपाईंले ‘सेटिङ>जेनेरल>अबाउट’मा गएर म्यानुअली अपडेट जाँच गर्न सक्नुहुन्छ । एन्ड्रोइडमा भने ‘सेटिङ>नेटवर्क एन्ड इन्टरनेट>इन्टरनेट’बाट यस सेटिङमा पुग्न सक्नुहुन्छ । 

-फोनको नेटवर्क सेटिङ रिसेट गर्ने

कहिलेकाहीँ कनेक्टिभिटीको समस्या समाधानका लागि यस्तो तरिकाले पनि काम गर्छ । तर यसो गर्दा तपाईंले सेभ गरेका वाई-फाई पासवर्ड, भीपीएन कनेक्सन र कस्टम एपीएन सेटिङहरू भने रिसेट हुन्छ । ​फोनको नेटवर्क सेटिङ रिसेट गर्न फोनको सेटिङमा 'रिसेट' सर्च गर्नुहाेस् ।

-सेवाप्रदायकलाई सम्पर्क गर्ने

सेवाप्रदायकको टावरमा आएको समस्या वा विभिन्न प्राविधिक कारणले समेत नेटवर्कमा समस्या निम्तिन सक्छ । नेटवर्क टिप्ने वा नटिप्ने भइरहेको छ भने त्यो टेलिकमको कभरेजका कारण हुन सक्छ ।

यसकारण विभिन्न माध्यम (अनलाइन, कार्यालय भ्रमण)बाट भए पनि भइरहेको समस्याबारे टेलिकमलाई जानकारी गराउनु पनि समाधानको एउटा राम्रो विकल्प हो ।

-सिग्नल बुस्टरको प्रयोग गर्ने

यी माथिका कुनै तरिकाबाट पनि मोबाइल नेटवर्कमा आइरहेको समस्या समाधान भएन भने सिग्नल बुस्टर प्रयोग गर्नुहाेस् । यो एउटा टुल हो, जसमा मोबाइल डिभाइसमा हुने नेटवर्क नै कनेक्ट हुन्छ । कोठा वा घरमा पर्याप्त हुने गरी यो टुलले नेटवर्कलाई बुस्ट गर्छ ।

यद्यपि यसको अर्को पाटो भनेको यी टुल महङ्गा हुन्छन् । सामान्य नेटवर्क सुधार गर्न मात्रै यस्ता टुल खरिद गर्नु कतिको न्यायोचित छ भन्ने कुरा तपाईंमा नै भर पर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० ११:५