close

नेपालमा डिजिटल वालेट प्रयोगकर्ता २ करोड नाघे

टेकपाना टेकपाना

मंसिर ७, २०८० १५:३०

नेपालमा डिजिटल वालेट प्रयोगकर्ता २ करोड नाघे

काठमाडौं । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले यस्ताे देखाएको हो ।

केन्द्रीय बैंककाे तथ्याङ्क अनुसार असोज २०८० सम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड दुई लाख ७६ हजार १६१ पुगेको छ । गत भदौ मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो ।

गत वर्ष असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ४८ लाख ३९ हजार ८२० थियो । यो तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा डिजिटल वालेट प्रयोगकर्ता ५४ लाख ३६ हजार ३४१ ले बढेका छन् ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि पछिल्लो एक महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड १९ लाख ५७ हजार ६९२ थियो । असोज २०८० मा भने उक्त सङ्ख्या बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।

यही अवधिमा गत वर्ष नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या एक करोड ९१ लाख दुई हजार ६५२ थियो । एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ८१ हजार ९७० ले बढेको छ ।

पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या भने निरन्तर घट्दो छ । भदौ २०८० सम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १८ लाख ८८ हजार ३४५ थियो । असोज मसान्त सकिँदा सो सङ्ख्या घटेर १६ लाख २५ हजार ९ पुगेको छ । गत वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १७ लाख ३७ हजार ८०३ थियो । एक वर्षको अवधिमा उक्त सङ्ख्या एक लाख १२ हजार ७९४ ले घटेको छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार असाेज महिनासम्म कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख ६० हजार ९५६ पुगेको छ । गत वर्ष यही अवधिमा कनेक्ट आईपीएसका प्रयोगकर्ताको सङ्ख्या नौ लाख ४६ हजार २९३ थियो । 

कारोबार सङ्ख्या र रकम

वालेट प्रयोगकर्ताको वृद्धिसँगै यसबाट हुने कारोबार सङ्ख्या र रकम पनि उल्लेखनीय रूपमा बढेको छ । भदौ २०८० मा वालेटबाट दुई करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको थियो । असोज २०८० मा वालेटबाट दुई करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको देखिन्छ । यही अवधिमा गत वर्ष वालेटबाट एक करोड ५७ लाख तीन हजार ४२ पटक कारोबार भएको थियो । 

वालेटबाट कारोबार भएको रकमको सन्दर्भमा असोज २०८० मा मात्रै २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष यही अवधिमा वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक वर्षको अवधिमा वालेटबाट हुने कारोबारको रकम छ अर्ब २२ करोड ८० लाख रुपैयाँले बढेको छ । 

यता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या वृद्धि भए पनि कारोबार सङ्ख्या भने एक महिनाको अवधिमा घटेको छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट तीन करोड ४४ लाख ९३ हजार २५२ पटक कारोबार भएकोमा असोजमा तीन करोड २७ लाख ७२ हजार ८३९ पटक कारोबार भएको छ । अर्थात एक महिनाको अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको सङ्ख्या १७ लाख २० हजार ४१३ ले घटेको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङ अन्तर्गत दुई करोड नौ लाख नौ हजार ३६१ पटक कारोबार भएको थियो । 

मोबाइल बैंकिङ मार्फत हुने कारोबारको रकमको तथ्याङ्क हेर्ने हो भने उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट दुई खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङबाट एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

इन्टरनेट बैंकिङको सन्दर्भमा भने पछिल्लो समय प्रयोगकर्ता, कारोबार सङ्ख्या र कारोबारको रकम घट्दो छ । तथ्याङ्क अनुसार भदौ २०८० मा इन्टरनेट बैंकिङबाट तीन लाख २९ हजार ८८६ पटक कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई लाख ७७ हजार ६०६ पटक कारोबार भएको थियो । सोही अवधिमा गत वर्ष दुई लाख ४८ हजार ६२२ पटक कारोबार भएको थियो । 

इन्टरनेट बैंकिंङमार्फत भएको कारोबार हेर्ने हो भने भदौ २०८० मा १२ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट ११ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । 

यसैगरी एक वर्षको अवधिमा क्यूआरबाट हुने कारोबारको सङ्ख्या आकर्षक रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा क्यूआरबाट एक करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार भएको थियो । असोज २०८० मा क्यूआर माध्यमबाट एक करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट भएको कारोबार रकमका सन्दर्भमा असोज २०८० मा ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० १६:२