close

अङ्ग्रेजी भाषा सिक्न उपयोगी ५ मोबाइल एप

टेकपाना टेकपाना

मंसिर ९, २०८० १६:४१

अङ्ग्रेजी भाषा सिक्न उपयोगी ५ मोबाइल एप

काठमाडौं । आफ्नो मस्तिष्कलाई चुनौती तथा तालिम दिइरहने एउटा उपाय हाे, नयाँ भाषा सिक्नु । नयाँ भाषा सिक्नुको फाइदा त्यतिमा मात्र सीमित छैन । तपाईं विदेश जाने योजना बनाउँदै हुनुहुन्छ, अथवा बाहिरी देशको साहित्य, संस्कृति वा अन्य खुराक बुझ्न खाेज्दै हुनुहन्छ भने त्याे देशकाे भाषाबारे ज्ञान लिनु अनिवार्य जस्तै हाे ।

सायद नयाँ भाषा सिक्नुको फाइदा तपाईंलाई बुझाइरहन नपर्ला । भाषा सिकाउने उद्देश्यले अहिले विभिन्न तालिम प्रदायक संस्था सक्रिय रहेका छन् ।

यसबाहेक विभिन्न अनलाइन प्लेटफर्ममा पनि भाषा सिक्न स्रोत दिइएका हुन्छन् । आज भने हामी तपाईंलाई अङ्ग्रेजी भाषा सिक्न उपयोगी पाँच मोबाइल एपबारे बताउँदै छाैं:

डुअलिङ्गो (Duolingo)

ल्याङ्ग्वेज एपमा डुअलिङ्गो एक चर्चित विकल्प हो । यो एप प्रयोग गर्न सजिलो हुनुका साथै अङ्ग्रेजी सिक्न पनि सहज छ । एपमा अंग्रेजी व्याकरण र शब्दावली सम्बन्धी आधारभूत विषयवस्तु समावेश गरिएको छ ।

एप आकर्षक र अन्तरक्रियात्मक छ । किनकी एपमा रहिरन सहज हुने गरी यसको डिजाइन गरिएको छ, जसले गर्दा सिक्ने क्रममा प्रयोगकर्तालाई अल्छी लाग्दैन ।

एपको मुख्य विशेषतामा सिकाइको प्रगति ट्र्याक गर्ने र पुरस्कार जित्न हौसाउने रहेको छ । जस्तै; एपमा भएका पाठहरू सक्दा प्रयोगकर्ताले पोइन्ट कमाउन सक्छन् । यसमा विभिन्न गेमहरूको माध्यमबाट सिक्ने प्रक्रियालाई रमाइलो गरिएको छ ।

यसमा भएका पाठहरू छोटा, तर उपयोगी हुने खालका छन् । यसकारण व्यस्त हुँदा पनि सिक्न सकिन्छ । त्यस्तै तपाईंले अन्य प्रयोगकर्तासँग भाषा सिक्ने मामिलामा एपमार्फत प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

बुसु (Busuu)

भाषा सिक्नका लागि बुसु अर्को एउटा विकल्प हो । यसमा अङ्ग्रेजी सहित अन्य १२ ओटा भाषा सिक्न सकिन्छ । यो भाषा सिक्ने एप भएपनि सामाजिक सञ्जाल प्लेटफर्म जस्तै काम गर्छ । अर्थात् भाषा सिक्न संसारका विभिन्न ठाउँका मानिससँग यो एपमार्फत जोडिन सकिन्छ ।

यसमा सशुल्क तथा नि:शुल्क दुवै योजना रहेका छन् । सशुल्क योजनामा सीमित कोर्ष रहेका छन् । यद्यपि यो योजनाबाट भाषा सिक्न नसकिने भन्ने छैन ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

बाबेल (Babbel)

अङ्ग्रेजी सुधार गर्न अथवा अन्य भाषा सिक्न यो एप पनि एउटा विकल्पको रूपमा रहेको छ । यसबाट १३ ओटा भाषा सिक्न सकिन्छ । यसमा दैनिक जीवनमा उपयोगी हुने वाक्यहरू सिकाउने खालका पाठहरू रहेका छन् । 

यो एपको मुख्य विशेषता भनेको वास्तविक समयमा कुराकानी गरेर भाषा सिक्नु हो । त्यसो हुँदा तपाईंले अङ्ग्रेजी मातृभाषीहरूसँग प्रत्यक्ष कुराकानी गरेर भाषा सिक्न सक्नुहुन्छ ।

तर यसमा पनि नि:शुल्क योजनामा सीमित स्रोतमा पहुँच दिइएको छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

हेल्लो इङ्ग्लिस (Hello English)

अङ्ग्रेजी भाषा सिक्न भर्खर प्रयास गर्दै गरेकालाई यो एप एउटा विकल्प बन्न सक्छ । यसमा अङ्ग्रेजी भाषा सिकाउन आधारभूत, तर अनिवार्य विषयहरू राखिएका छन् । जस्तै; व्याकरण, शब्दावली र उच्चारण आदि ।

एपमा रहेर सिकाइ जारी राख्न यसमा विभिन्न गेम तथा क्विजहरू राखिएका छन् । साथै यस एपले दैनिक रुपमा तपाईंलाई गृहकार्य समेत दिन्छ । जसले गर्दा नयाँ पाठमा पहुँच पाउन तपाईंले सो अभ्यास सक्नैपर्ने हुन्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

मेमराइज (Memrise)

यो एउटा क्राउड सोर्स्ड (crowd-sourced) ल्याङ्ग्वेज एप हो । अर्थात् यसमा पाइने सामग्री, स्रोत अथवा अन्य शैक्षिक सामग्रीहरू अन्य व्यक्तिहरूले राखेका हुन्छन् । यद्यपि ती सामान्य भने हुँदैनन् ।

अझ यसमा आकर्षक गेम तथा पाठहरू राखिएका छन् । एपको मुख्य विशेषता भनेको कुनै पनि शब्द याद गरेर भन्दा पनि वास्तविक अवस्थामा कसरी प्रयोग गरिन्छ भनेर सिकाउनु रहेको छ । त्यसो हुँदा सिक्न रमाइलो हुन्छ, साथै सिकेको कुरा पनि तपाईं बिर्सनु हुन्न । ​यसबाहेक यहाँ अंग्रेजी मातृभाषा भएकाहरूले विभिन्न सामग्रीहरू राखेका हुन्छन् ।

यसमा तपाईंले अन्य प्रयोगकर्तासँग भाषा सिक्नका लागि प्रतिस्पर्धासमेत गर्न सक्नुहुन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

यी माथिका बाहेक पनि अङ्गेजी सिकाउने विभिन्न एप तथा वेबसाइट छन् । जस्तो; बिट्रिश काउन्सिलको लर्न इङ्ग्लिस, बिलिङ्गु एप, हेल्लो टक आदि । यी एपका अतिरिक्त विभिन्न युट्युब च्यानलमा भिडिओ हेरेर वा वेबसाइटमा पाइने पाठ पढेर भाषा सिक्न तथा सुधार गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० २२:२२