close

अब पुराना फोनमा गुगल क्रोम र क्यालेन्डर नचल्ने

टेकपाना टेकपाना

मंसिर १२, २०८० १७:२७

अब पुराना फोनमा गुगल क्रोम र क्यालेन्डर नचल्ने

काठमाडौं । पुरानाे एन्ड्रोइड भर्सनका स्मार्टफाेनमा गुगल क्रोम र क्यालेन्डर एप नचल्ने भएका छन् । गुगलले एन्ड्रोइड ७.० वा यो भन्दा तलका भर्सनमा दिइरहेको सपोर्ट बन्द गर्न लागेकाले यी एपले नयाँ अपडेट नपाउने भएका हुन् । 

यसबारे गुगलले आफ्नो इन्टरप्राइज एन्ड एजुकेसन हेल्प पेजमा जानकारी दिएको छ । त्यसमा उल्लेख भएअनुसार क्रोमको नयाँ भर्सन ‘क्रोम १२०’ कुनै पनि स्मार्टफोनमा डिफल्ट ब्राउजरका रुपमा रहन कम्तीमा एन्ड्रोइड ८ आवश्यक पर्ने हुन्छ ।

त्यस्तै गुगल क्यालेन्डरको नयाँ अपडेटका लागि पनि कम्तीमा एन्ड्रोइड ८ चाहिने बताइएको छ । सोहीकारण एन्ड्रोइड ७.० वा यो भन्दा तलका एन्ड्रोइडको भर्सनमा चाँडै नै अपडेटेड एप नचल्ने भएका हुन् ।

अहिले गुगलले ल्याएको एन्ड्रोइडको सबैभन्दा नयाँ र पछिल्लो पछिल्लो भर्सन एन्ड्रोइड १४ हो । यद्यपि सबैभन्दा बढी इन्स्टल गरिएको भर्सन भने एन्ड्रोइड ११ रहेको छ । त्यस्तै कतिपय प्रयोगकर्ताहरूले पुराना भर्सन नै प्रयोग गरिरहेका छन् । तर पछिल्लो समयमा सुरक्षाका कारण गुगलले त्यस्ता पुराना डिभाइसमा सपोर्ट बन्द गर्न थालेको छ ।

नयाँ अपरेटिङ सिस्टमलाई सुरक्षित बनाउन डेभलपहरूले काम गर्ने भएकाले पुराना अपरेटिङ सिस्टममा सपोर्ट गर्न छाडिरहेका हुन्छन् । तर गुगलको यस कदमले धेरैलाई ठूलो असर नगर्ने भएको बताइएको छ । प्रयाेगकर्ताले आफ्नो मोबाइलमा यी एप चलाउन ‘अटो-अपडेट’ फिचर अफ गर्ने वा पुरानो भर्सनको एप इन्स्टल गर्नुपर्छ ।

तर यसो गर्दा प्रयाेगकर्ता आफैं जोखिममा पर्नसक्ने सम्भावना हुन्छ । यसबाहेक फोनलाई एन्ड्रोइड ८ अथवा माथिको नयाँ भर्सनमा अपडेट गर्नु हो । यसो गर्दा ती एपको नयाँ भर्सन चल्ने मात्र नभएर फोन थप सुरक्षित समेत हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १७:३४