close

सस्तोमा सामान बिक्रीमा छ भन्दै अनलाइन विज्ञापन गरेको देख्नुभयो ? सावधान !

टेकपाना टेकपाना

मंसिर १३, २०८० ११:२७

सस्तोमा सामान बिक्रीमा छ भन्दै अनलाइन विज्ञापन गरेको देख्नुभयो ? सावधान !

 

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यममा सस्तो मूल्यमा सामान बिक्रीका लागि राख्ने र अग्रिम भुक्तानी लिएपछि सञ्चालक सम्पर्कविहीन हुने प्रवृत्ति बढेको भन्दै नेपाल प्रहरीले सतर्क रहन अनुराेध गरेकाे छ । देशभरका विभिन्न प्रहरी कार्यालयमा यसरी ठगिने घटनाका उजुरी बढ्न थालेपछि एक सूचना जारी गर्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको हाे ।

सामाजिक सञ्जालका माध्यमबाट सस्तोमा सामानको विज्ञापन राख्ने र अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने, अनि डेलिभरी नगरी ग्राहकका अकाउन्ट ब्लक गर्ने प्रवृत्ति बढेको प्रहरीले सूचनामा उल्लेख गरेको छ ।

“सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज/अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौं,” प्रहरीले भनेको छ ।

यसरी अनलाइनमा सामान खरिद गर्दा ठगीमा परेका पीडितलाई प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित निवेदन दिन अनुरोध गरेको छ । 

कुनै पनि अकाउन्ट आधिकारिक हो वा होइन भन्ने यकिन गर्न सो पेज वा अकाउन्टमा आएका प्रतिक्रिया तथा रिभ्युलाई आधार मान्न सकिन्छ । कतिपय प्रयोगकर्ताले बिक्रेताबाट भनेको सामान पाएनन् वा ठगीमा परेका छन् भने नकारात्मक रिभ्यु दिएका हुन्छन् ।

अहिले सामाजिक सञ्जालका अकाउन्ट विशेषगरी फेसबुक, इन्स्टाग्राम र एक्समा भेरिफिकेसन ब्याज खरिद गर्न सकिन्छ । त्यसैले भेरिफिकेसन ब्याज भएका अकाउन्ट आधिकारिक नै हुन् भन्न सकिंदैन ।

त्यसका लागि उनीहरूले कत्तिको पोस्ट राख्छन्, ती पोस्टमा कस्ता प्रतिक्रिया आएका छन्, सामान खरिद गर्दा के-कस्ता प्रक्रिया अपनाएका छन्, उनीहरूको वेबसाइट छ वा छैन, छ भने के-कस्ता जानकारी राखेका छन् भन्ने विषयलाई आधार मानेर उक्त बिक्रेता कत्तिको भरपर्दो छ भन्ने पहिचान गर्न सकिन्छ ।

कतिपय बिक्रेताले नक्कली अकाउन्टबाट पनि राम्रै रिभ्यु वा पोस्टमा कमेन्ट गरिरहेका हुन्छन् । त्यस्तोमा आफूलाई शंका लागेको छ भने ‘क्याश अन ह्यान्ड’ अर्थात् सामान आइसकेको छ भने मात्र भुक्तानी दिनुपर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० १४:३