close

इम्बोस्ड नम्बर प्लेट जडान गर्न १२२ जना कर्मचारीहरू खोज्दै यातायात विभाग

टेकपाना टेकपाना

मंसिर १३, २०८० २०:३१

इम्बोस्ड नम्बर प्लेट जडान गर्न १२२ जना कर्मचारीहरू खोज्दै यातायात विभाग

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले १२२ जना कर्मचारीहरूको माग गरेको छ । एक सूचना प्रकाशित गर्दै विभागले इजाजतप्राप्त तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक फर्म, संस्था वा कम्पनीलाई विद्युतीय सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

विज्ञापनअनुसार विभागले दर्ता सहायक पदमा २५, इनरोलमेन्ट अपरेटरमा ३५, स्टोर किपरमा ९,  मेकानिकमा ४६, रनरमा सात गरी कूल १२२ कर्मचारी माग गरेको छ ।

यी कामका लागि कम्प्युटरको आधारभूत ज्ञान तथा सवारी वर्कशपमा गरिने कार्यसम्बन्धी सामान्य ज्ञान हुनुपर्ने बताइएको छ । मेकानिकका लागि भने विभिन्न मोडेलका सवारी इन्जिन नम्बर र च्यासिस नम्बर पहिचानमा अनुभव हुनुपर्ने छ ।

नियुक्त भएका कर्मचारीहरूले बिर्तामोड, इटहरी, लाहान, जनकपुर, बर्दिबास, विरगञ्ज लगायतका स्थान तथा विभागले तोकेको यातायात व्यवस्था कार्यालय वा सवारी परीक्षण कार्यालयमा सेवा गर्नुपर्ने बताइएको छ ।

त्यस्तै उनीहरूको सेवा अवधि सम्झौता भएको मितिबाट १५ दिनभित्र सुरु भई २०८१ असार मसान्तसम्म हुने जनाइएको छ । साथै विभागको आवश्यकता तथा स्रोत सुनिश्चितताका आधारमा अवधि थप गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० २०:५०