close

सीईओकै रूपमा पुन: ओपनएआईमै फर्किए साम अल्टम्यान

टेकपाना टेकपाना

मंसिर १४, २०८० ११:५३

सीईओकै रूपमा पुन: ओपनएआईमै फर्किए साम अल्टम्यान

काठमाडौं । ओपनएआईबाट बर्खास्त भएको १२ दिनपछि साम अल्टम्यान प्रमुख कार्यकारी अधिकृत (सीईओ)कै रूपमा कम्पनीमा पुनर्बहाली भएका छन् । ओपनएआईले बिहीवार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै आधिकारिक रूपमा अल्टम्यानलाई सीईओ नियुक्त गरेको घोषणा गरेको हो ।

“साम अल्टम्यान सीईओका रूपमा, मिरा मुराती सीटीओ (चिफ टेक्निकल अफिसर) र ग्रेग ब्रोकम्याम अध्यक्षका रूपमा फिर्ता भएका छन्,” कम्पनीले लेखेको छ । ओपनएआईका अनुसार सो कम्पनीमा अहिले ब्रेट टेलरको अध्यक्षतामा नयाँ बोर्ड समिति गठन भएको छ ।

नयाँ बोर्ड सदस्यमा सेल्स फोर्सका पूर्व सीईओ, पूर्व ट्रेसरी सेक्रेटरी ल्यारी समर्स र कोराका सीईओ आडम दि’एन्जेलो रहेका छन् ।

आफू ओपनएआईमा पुनः सीईओ नियुक्त भएपछि साम अल्टम्यानले एक्समा लेखेका छन्, “यो अनुभवबाट सिक्नु र ती सिकाइहरूलाई लागू गर्नु महत्त्वपूर्ण छ । म हालका सबै घटनामा बोर्डले गरेको स्वतन्त्र समीक्षालाई स्वागत गर्दछु ।”

१७ नोभेम्बरमा ओपनएआईको बोर्डले अल्टम्यानलाई सीईओको भूमिकाबाट हटाएको घोषणा गरेको थियो । कम्पनीले जारी गरेको ब्लगपोस्टमा ओपनएआई चलाउनसक्ने थप क्षमता उनमा नभएको र बोर्डसँग उनी इमानदार नभएको उल्लेख गरेकाे थियो ।

ओपनएआईले गत नोभेम्बर २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि अल्टम्यान एआई क्षेत्रमा थप चर्चित बनेका छन् । आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) तयार पार्ने लक्ष्यका साथ सन् २०१५ देखि उनी ओपनएआईमा जोडिएका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १२:८