close

कर्णाली प्रदेशमा प्रहरीले ड्युटीको समयमा फोन प्रयोग गर्न नपाउने

टेकपाना टेकपाना

मंसिर १४, २०८० १६:२०

कर्णाली प्रदेशमा प्रहरीले ड्युटीको समयमा फोन प्रयोग गर्न नपाउने

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले ड्युटीका समयमा प्रहरीलाई फोन प्रयोग गर्नबाट रोक लगाएको छ । ड्युटीमा खटिएका प्रहरी कर्मचारी सामाजिक सञ्जालका विभिन्न माध्यममा व्यस्त हुन थालेपछि कार्यालयले बिहीवारदेखि प्रभावकारी रूपमा फोन प्रयोग गर्न नपाउने नियम लागू गरेको हो ।

यससँगै कार्यालयले ड्युटीमा खटिएका प्रहरीलाई अत्यावश्यक परेको समयमा फोन उठाउन र फोन गर्न पाउने, तर सामाजिक सञ्जाल भने प्रयोग नगर्न निर्देशन दिएको छ । 

“अनिवार्य फोन कल गर्ने बाहेक मोबाइल ह‍ेर्ने टिकटक हेर्ने, भिडिओ हेर्ने कार्य पहिलेदेखि नै निषेध थियो,” टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले भने, “ड्युटीको क्रममा हुने सञ्चार आदानप्रदानको प्रयोजनमा बाहेक अन्य कामका लागि आजदेखि प्रभावकारी रूपमा स्मार्टफोन प्रयोग गर्न नपाउने नियम लागू गरेका छौं ।” 

प्रहरी सबै कुरामा चनाखो हुनुपर्ने र ड्युटीमा एकाग्र भएर लाग्नुपर्ने भएकाले सामाजिक सञ्जालमा भुल्दा काम प्रभावकारी नहुने उनको भनाइ छ । उनका अनुसार ड्युटीमा खटिने प्रहरीले फोन बोक्न पाउँछन् र फोन आएको अवस्थामा वा फोन गर्नुपर्ने अवस्थामा फोन गर्न पाउँछन् । त्यसबाहेक अन्य गतिविधिमा लागे त्यसको निगरानी ड्युटीमा खटाउने कमान्डरले गर्ने उनले सुनाए ।

“प्रहरीमा तुरुन्त सञ्चारको आदान प्रदान हुनुपर्छ त्यसैले फोन गर्न वा फोन रिसिभ गर्न आदेश लिनु पर्दैन, “ उनले भने, “हामीले ड्युटीमा खटिने प्रहरी र कमान्डरलाई नै ड्युटीको समयमा अनावश्यक रूपमा फोन प्रयोग नगर्न उत्तरदायी बनाएका हुन्छौं । यदि कसैले प्रयोग गरेमा जवाफदेही हुनुपर्छ भने केही अवस्थामा कारवाही नै भोग्नुपर्ने हुन्छ ।”

यसरी मोबाइल नचलाएर प्रहरीले ड्युटी गर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने कार्यालयको विश्वास छ । 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १७:४९