close

टिकटक प्रतिबन्धले एनसेललाई दैनिक १ करोडभन्दा बढीको घाटा, टेलिकमलाई कति ?

टेकपाना टेकपाना

मंसिर १४, २०८० १९:३४

टिकटक प्रतिबन्धले एनसेललाई दैनिक १ करोडभन्दा बढीको घाटा, टेलिकमलाई कति ?

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका कारण निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई दैनिक एक करोड रुपैयाँको घाटा हुन पुगेको छ । टेकपानालाई प्राप्त जानकारी अनुसार कम्पनीको आन्तरिक विश्लेषणबाट टिकटक प्रतिबन्धको असर स्वरूप एनसेलको डेटा तर्फको आम्दानीमा ठूलो धक्का लागेको हो । 

गत २७ कात्तिकमा बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशमा रहेका टेलिकम कम्पनी र इन्टरनेट सेवा प्रदायकलाई टिकटकमाथि प्रतिबन्ध लगाउन बाध्य पारेको छ । 

“टिकटक प्रतिबन्धले गर्दा हाम्रो डेटा तर्फको आम्दानी दैनिक एक करोडले घट्ने देखियो,” एनसेल स्रोतले टेकपानासँगको कुराकानीमा भन्यो, “यो प्रतिबन्ध जारी रहेको खण्डमा वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको बिजनेस गुम्ने निश्चित छ ।”

टिकटक नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल हुनुका साथै यसले देशको कूल इन्टरनेट ब्यान्डविथ मध्ये ३० देखि ३५ प्रतिशत खपत गर्दै आएको थियो । मोबाइल सेवा प्रदायकको डेटा व्यवसायमा भने टिकटकको योगदान ४० प्रतिशत हाराहारी रहेको नेपाल टेलिकमका एक अधिकारीले बताए । 

“अकामाईको सीडीएनमा ८० प्रतिशत क्याश डेटा टिकटककै रहेको थियो, जसका लागि हामीले पैसा पनि तिर्नु पर्दैन थ्यो,” ती अधिकारीले भने, “अन्तर्राष्ट्रिय ब्यान्डविथ समेत गर्दा टिकटकको योगदान ४० प्रतिशत थियो ।”

उनका अनुसार टिकटक डेटा बिजनेसमा मुख्य ‘कन्ट्रिब्युटर’ तथा ‘कन्टेन्ट’ (इन्टरनेट सामग्री) रहेकोमा त्यसमाथि प्रतिबन्ध लाग्दा अवश्य पनि त्यसको केही असर कम्पनीको व्यवसायमा पर्न सक्छ । “तर आम्दानीमा कति असर पर्छ भन्ने कुराको लेखाजोखा भने गरिसकेका छैनौं,” उनले अगाडि भने ।टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय सरकारले नै गरेकाले आफूहरूले मान्नैपर्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

एनसेलको आन्तरिक विश्लेषणलाई आधार बनाउँदा टिकटकमाथिको प्रतिबन्ध कायम रहेको खण्डमा नेपाल टेलिकम र एनसेल गरी दुवै कम्पनीको कूल वार्षिक आम्दानी छ अर्ब हाराहारीले घट्ने देखिन्छ । जसमा राज्यले प्राप्त गर्ने रोयल्टी, भ्याट, दूरसञ्चार सेवा शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष लगायत गरी अढाई अर्बको घाटा राज्यलाई समेत पर्नेछ । 

एनसेलको वित्तीय विवरण अनुसार कम्पनीले पछिल्लो एक वर्षमा ३७ अर्ब ८८ करोड ३३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमासिक अवधिमा एनसेलको कूल आम्दानीमध्ये ३५ प्रतिशत आम्दानी डेटातर्फ रहेको छ । 

यस हिसाबले टिकटक प्रतिबन्ध नहुँदाको अवस्थामा अबको एक वर्षमा एनसेलको आम्दानी गत वर्षकै समान हुने अनुमान गर्दा त्यसको ३५ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ९१ लाख ८३ हजार रुपैयाँ डेटा बिक्रीबाट आउनेछ । टिकटक प्रतिबन्ध जारी रहँदाको अवस्थामा कम्पनीले त्यसको ४० प्रतिशत अर्थात् पाँच अर्ब ३० करोड ३७ लाख रुपैयाँको व्यवसाय गुमाउने देखिन्छ । 

त्यस्तै नेपाल टेलिकमको प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको कूल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको थियो । सोही त्यसको ३५ प्रतिशत डेटा तर्फको आम्दानी मान्ने हो भने १२ अर्ब ८८ करोड १४ लाख रुपैयाँ हुन आउँछ । 

टिकटकले खपत गरिरहेको ४० प्रतिशत डेटा तर्फको व्यवसाय गुमाउँदाको अवस्थामा टेलिकमको वार्षिक आम्दानीमा पाँच अर्ब १५ करोड रुपैयाँले गिरावट आउने सम्भावना देखिन्छ । 

प्रविधिको विकासले गर्दा टेलिकम कम्पनीहरूको भ्वाइस तथा कल तर्फको आम्दानी घट्दो छ । तर डेटा खपत बढ्दै गए पनि घट्दै गएको आम्दानीलाई पूर्ण रूपमा भरथेग गर्न भने सकिरहेको छैन । डेटातर्फको आम्दानी बढाउनु पर्ने बाध्यतामा रहेका टेलिकम कम्पनीहरूलाई मुख्य कन्टेन्टको रूपमा रहेको टिकटक माथि नै प्रतिबन्ध लागेपछि अर्को चुनौती थपिएको हो । 

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर विभिन्न  १४ ओटा रिट विचाराधिन अवस्थामा रहेका छन् । यही १९ मंसिरमा तोकिएको पेसीबाट सो उपर फैसला आउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १५:४२