close

गुगल मेसेजमा अब च्याट बबलको रङ आफैंले छान्न सकिने

टेकपाना टेकपाना

मंसिर १६, २०८० १४:५५

गुगल मेसेजमा अब च्याट बबलको रङ आफैंले छान्न सकिने

 

काठमाडौं । गुगलले आफ्नो मेसेज एपमा ब्याकग्राउन्ड र टेक्स्ट बबलको रङ परिवर्तन गर्न मिल्ने फिचर ल्याएको छ । गुगलले एपमा एक अपडेट गर्दै नयाँ फिचर थपेको हो ।

यससँगै च्याट गरिने व्यक्ति अनुसार तपाईंले टेक्स्ट बबलको रङ फरक-फरक राख्न सक्नुहुने छ । यससँगै यदि तपाईंसँग पिक्सेलको पछिल्लो मोडेलका फोन भए गुगल मेसेजमा फोटोलाई फोटोमोजी (फोटोका आधारमा इमोजी) बनाउन सक्नुहुन्छ ।

गुगलको एआई मार्फत तयार हुने त्यस्ता फोटोमोजीलाई भविष्यमा पुन: प्रयोग गर्न स्वत: सेभ हुने बताइएको छ ।

त्यस्तै मेसेज एपमा गुगलले भोइस मोड समेत थपेको छ । यसबाट भोइस मेसेजमा भएको आवाजका आधारमा भिजुअल इफेक्ट देखापर्ने बताइएको छ । यसका साथै केही शब्द लेखेको भरमा १५ ‌ओटा स्क्रिन इफेक्ट हुने फिचर पनि  गुगलले आफ्नो एपमा थपेको छ ।

योसँगै केही इमोजी अथवा रिक्यासन प्रयोग गर्दा डिस्प्लेमा एनिमेसन हुने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १४:५५