close

घरमा इलेक्ट्रिक जग छ ? यसरी गर्नुहोस् सफा

टेकपाना टेकपाना

मंसिर १६, २०८० १५:५७

घरमा इलेक्ट्रिक जग छ ? यसरी गर्नुहोस् सफा

काठमाडौं । जाडोयामकाे समय छ । याे मौसममा न्यानो रहने उपायमध्ये तातो पानी पिउनु पनि एक हो । पानी तताउन हामीसँग विभिन्न विकल्प छन् । तर पछिल्लो समयमा चुल्होमा पानी तताइराख्नुपर्ने कुराहरूलाई विद्युतीय किट्लीले विस्थापित गरेको छ भन्दा फरक नपर्ला ।

सस्ताे मूल्यमा नै थुप्रै होम अप्लायन्स ब्रान्डले नेपाली बजारमा विद्युतीय किट्ली बिक्री-वितरण गरिरहेका छन् । आजभोलि विद्युतीय किट्लीबाट पानी तताउनु बाहेक चाउचाउ उमाल्ने, तातो पेय पदार्थ लगायतका काम पनि हुने गर्छ ।

तर जब विद्युतीय सामग्री सफा गर्ने सन्दर्भ आउँछ, तब धेरैका लागि लागि समस्याको विषय बन्न सक्छ । तपाईंले सोचेभन्दा सरल तरिकाले भान्सामा हुने विद्युतीय सामग्री सफा गर्न सकिन्छ । आज हामी भान्सामा प्रयोग हुने उही विद्युतीय किट्ली सफा गर्ने तरिकाबारे जानकारी दिने छौं:

विद्युतीय किट्लीको भित्री भाग पानीसँग सम्पर्क हुन्छ । तर विद्युतीय भागहरूमा भने पानीसँग सम्पर्क हुँदैन । तर त्यसो भन्दैमा सामान्य भाँडाकुँडाहरू जस्तै पानीले प्रत्यक्ष सफा गर्ने अथवामा बिजुलीमा सम्पर्क हुने किट्लीको भागमा पानी पसाउनु हुँदैन । यसो हुँदा सर्ट सर्किट हुने सम्भावना हुन्छ ।

तर हामीले विभिन्न तरिकाबाट विद्युतीय किट्ली सफा गर्न सक्छौं । ती मध्येको एक सरल र भरपर्दो उपाय साइट्रिक एसिड प्रयोग गर्नु हो । 

विद्युतीय किट्ली सफा गर्नुअघि भित्री भागमा केही चिज अड्किएको वा फोहोर जमे/नजमेकाे हेर्नुहोस् । यसले कहाँ सफा गर्ने भन्ने कुरा थाहा पाइन्छ । कतिपय अवस्थामा किट्लीको भित्री भागमा खियाको दाग हुन्छ भने फिल्टरमा केही वस्तु जमेर बसेका हुन्छन् । यसपछि तपाईं निम्न तरिका अपनाउन सक्नुहुन्छ:

-किट्ली आधा भरिने गरी पानी भर्नुहोस् । 

-अब दुई चम्चा जति साइट्रिक एसिडको पाउडर हाल्नुहोस् । यदि तपाईंसँग साइट्रिक एसिड छैन भने डिस्टिल्ड भिनेगर अथवा कागतीको रस प्रयोग गर्न सक्नुहुन्छ । तर खिया लागेको दाग हटाउन साइट्रिक एसिड उत्तम विकल्प हुने गर्छ । 

-त्यति गरेपछि किट्लीमा भएको उक्त पानी उमाल्नुहोस् । 

-पानी उमालिसकेपछि केहीबेर चिस्याउनुहोस् ।  

-किट्लीको टुटीभित्र हुने सानो फिल्टर हटाउनुहोस् (यदि तपाईंसँग छ भने)। त्यो फिल्टर हटाउन सजिलो हुन्छ ।

-त्यस फिल्टरलाई भर्खरै उमालेको पानीमा हाल्नुहोस् । र, करिब २०-३० मिनेट त्यतिकै छाड्नुहोस् । तपाईंले यो समयमा पानी उमाल्नु पर्दैन । 

-२०/३० मिनेट भएपछि उक्त फिल्टरलाई किट्लीको पानीबाट हटाउनुहोस् । त्यहाँ लागेको खियाको रङ्ग गए/नगएको हेर्नुहोस् ।

-यदि खिया हटेन भने बोटल ब्रस अथवा सफा गर्ने सामान प्रयोग गर्नुहोस । अब यति सबै गरेपछि सफा पानीले किट्ली पखाल्नुहोस् । 

-तर यदि गर्दा पनि किट्ली सफा भएन भने किट्लीभित्र साइट्रिक एसिड छर्केर पेस्ट बनाएर सफा कपडाले त्यसलाई हटाउने प्रयास गर्नुहोस् । र पुन: माथिको प्रक्रिया दोहोर्‍याउनुहोस् । 

-सो समयमा फिल्टरमा जमेका स-साना वस्तुहरूलाई टुथपिक प्रयोग गरेर हटाउनुहोस् । 

-पुन: किट्लीको पानी तातेपछि त्यसलाई चिस्याउनुहोस् । अघि जस्तै किट्लीको भित्री भाग सफा गर्नुहोस् । 

-अब किट्लीको बाहिरी भाग सफा गर्नुपर्ने हुन्छ । किट्लीको बाहिरी भाग प्राय: स्टेनलेस स्टिलले बन्ने हुँदा तपाईंले सुक्का माइक्रोफाइफर कपडामा गर्न सक्नुहुन्छ । त्यसपछि किट्ली सफा गर्ने तपाईंको काम सकिन्छ ।

प्राय: यति समयसम्म विद्युतीय किट्ली प्रयग गर्नुपर्छ भन्ने छैन । त्याे प्रयाेग गर्ने तरिकामा भर पर्छ । तर किट्ली नियमित रूपमा सफा गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो हाे ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १५:५७