close

ज्याक माले खोले नयाँ स्टार्टअप, तयारी मासुको व्यापार गर्ने !

टेकपाना टेकपाना

मंसिर १६, २०८० १९:१३

ज्याक माले खोले नयाँ स्टार्टअप, तयारी मासुको व्यापार गर्ने !

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले ‘हाङजाउ माज किचन फुड’ (Hangzhou Ma’s Kitchen Food) नामक नयाँ स्टार्टअप सुरु गरेका छन् । ज्याक माले चीनको पूर्वी भागमा पर्ने आफ्नाे गृह सहर हाङजाउमा यस्ताे व्यवसाय थालेका हुन् । 

सुरुवाती पुँजी एक कराेड यूआन (करिब १८ करोड) रहेको यस कम्पनीले अलिबाबाका लागि समेत काम गर्ने बताइएकाे छ । यस कम्पनीले प्याके गरिएका खाना आयात तथा निर्यात गर्ने र खाद्य कृषि उत्पादनहरू बिक्री गर्ने बताइएको छ ।

यद्यपि माको नयाँ कम्पनीको बिजनेस मोडेल तथा बिक्री गर्ने खानेकुराको प्रकारबारे स्पष्ट खुलाइएको छैन । तर माले चीनमा तयारी मासुको व्यापार गर्नसक्ने अनुमान गरिएको छ । 

युरोमोनिटर इन्टरनेसनलका अनुसार चीनमा तयारी मासुको व्यापार गत वर्ष मात्रै ‍करिब ७१.१ अर्ब यूआन मूल्य बराबरको रहेको थियो । यसबाहेक अन्य तयारी खानाको बजार फस्टाइरहेको छ । सोही कुरालाई लिएर चीनमा माले नयाँ व्यापार गर्न लागेको लख काटिएको छ । 

सन् १९९९ मा अलिबाबा स्थापना गरेका मा यसै कम्पनीबाट विश्वका धनाढ्य बने । फोर्ब्सका अनुसार हाल उनी चीनको सातौं र विश्वको ६३औं धनाढ्यको सूचीमा छन् ।

सन् २०२० मा चिनियाँ वित्तीय नियामक तथा बैंकहरूप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनी गायब भएका थिए । त्यसअघि सन् २०१९ मा उनले अलिबाकाे अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनै माले गर्न लागेको व्यापारलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १९:१३