close

बाहिरियो सामसङ ग्यालेक्सी एस २४ सिरिजको डिजाइन, यी हुन् प्रमुख फिचरहरू

टेकपाना टेकपाना

मंसिर १७, २०८० १४:२०

बाहिरियो सामसङ ग्यालेक्सी एस २४ सिरिजको डिजाइन, यी हुन् प्रमुख फिचरहरू

काठमाडौं । सामसङ ग्यालेक्सी एस २४ सिरिज आगामी महिना अर्थात् १७ जनवरी २०२४ मा सार्वजनिक हुने चर्चा छ । तर, याे सिरिजका फाेन सार्वजनिक हुनुअघि नै यसका प्रमुख फिचरहरू लिक भइसकेका छन् ।

विन्डोज रिपोर्ट नामक लिकर प्लेटफर्मले एस २४ को डिजाइन र अन्य फिचरहरू बाहिर ल्याएको छ । एप्पलले हालै सार्वजनिक गरेको आईफोन १५ सिरिजसँग प्रतिस्पर्धा गर्न सामसङले एस २४ सिरिज ल्याउन लागेकाे अनुमान गरिएकाे छ ।

यसमा सबैभन्दा आकर्षक फिचर नै एआई हुने चर्चा छ । विन्डोज रिपोर्टले एस २४ सिरिजका फोटोहरू र केही फिचरहरूको जानकारी प्राप्त गरेको दाबी गरेको छ । सो प्लेटफर्मका अनुसार याे सिरिज एस २४, एस २४ प्लस र एस २४ अल्ट्रामा उपलब्ध हुनेछ ।

कस्तो होला एस २४ अल्ट्रा ? 

सामसङको नयाँ फोन एस २४ अल्ट्रा विभिन्न चार कलर भेरियन्टहरू टाइटानियम ब्ल्याक, टाइटानियम ग्रे, टाइटानियम भायोलेट र टाइटानियम एल्लोमा उपलब्ध हुनेछ । यसमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.८ इन्चको क्यूएचडी प्लस डिस्प्ले हुनेछ ।

स्न्यापड्रागनको अहिलेसम्मकै शक्तिशाली स्न्यापड्रागन ८ जेन थ्री चिपसेट हुने फोनमा २०० मेगापिक्सेलको वाइड क्यामेरा सेटअप रहने छ । त्यस्तै यसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड, १० मेगापिक्सेलको टेलिफोटो (तीन गुणा जुम क्षमता भएको) र ५० मेगापिक्सेलको अर्को टेलिफोटो (पाँच गुणा जुम क्षमता भएको) क्यामेरा सेन्सर र १२ मेगापिक्सेलको डुअल पिक्सेल सेल्फी क्यामेरा हुनेछ । 

१२ जीबी र्‍याम हुने यो फोन २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने चर्चा छ । ब्याट्रीको सन्दर्भमा यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ । जसलाई सुपरफास्ट २.० चार्जिङ र फास्ट वायरलेस २.० चार्जरबाट चार्ज गर्न सकिनेछ ।

डिस्प्ले सुरक्षाका लागि यसमा कोर्निङ गोरिल्ला अर्मर वा टाइटानियम हुनसक्ने अपेक्षा गरिएको छ । 

एआई फिचरको वर्षात् !

२०२४ मा सार्वजनिक हुने यो फोनको मुख्य आकर्षण नै एआईलाई मानिएको छ । सामसङले एआई इन्ट्रिगेट गरेर आफूले उपलब्ध गराउँदै आएका फिचरलाई थप परिष्कृत गर्ने अपेक्षा गरिएको छ । विशेषगरी यसमा वास्तविक समयमा मेसेजिङ एपको भाषा अनुवाद गर्न सकिने फिचर उपलब्ध हुनेछ ।

त्यस्तै यसबाट खिचेका फोटोलाई थप स्तरीय र आकर्षक बनाउन सामसङले इन्ट्रिगेट गर्ने एआई उपयोगी हुने विश्लेषकले जनाएका छन् । कम्पनीले हालै ‘एआई फोन’ र ‘एआई स्मार्टफोन’को दुई ओटा ट्रेडमार्क दर्ता गरेको छ । त्यसैले एस २४ मा बढीभन्दा बढी एआई फिचरहरू हुने अपेक्षा गर्न सकिन्छ ।

ग्यालेक्सी एस २४ र ग्यालेक्सी एस २४ प्लस 

सामसङले एस २४ लाइनअप अन्तर्गत एस २४ र एस २४ प्लस सार्वजनिक गर्ने लिकरहरूको दाबी छ । यी दुवै मोडेल ओनेक्स ब्ल्याक (Onyx Black), मार्बल ग्रे (Marble Grey), कम्बाल्ट भायोलेट (Combalt Violet) र अम्बर एल्लो (Amber Yellow) कलरमा उपलब्ध हुनेछ ।

यी दुई मोडेलमा साइज, केही फिचर र अन्य केही फिचर मात्र भिन्न हुने भनिएको छ । एस २४ मा १२० हर्ज रिफ्रेशरेट भएको ६.२ इन्च एफएचडी प्लस डिस्प्ले र एस २४ प्लसमा १२० हर्ज रिफ्रेश रेट सहितको ६.७ इन्च क्यूएचडी प्लस डिस्प्ले हुने हुनेछ ।

त्यस्तै एस २४ मा एक्सिनस २४०० (Exynos 2400) र एस २४ प्लसमा स्नापड्रागन ८ जेन थ्री चिपसेट समावेश गरिएको हुनेछ । त्यस्तै एस २४ मा ४००० एमएएच र एस २३ प्लसमा ४९०० एमएएच क्षमताको ब्याट्री हुने लिकहरूको दाबी छ । 

यी दुवै फोनमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा,५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र १० मेगापिक्सेल टेलिफोटो लेन्स हुने बताइएको छ । यी मोडेल १२८ जीबी/२५६ जीबी/५१२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० १४:२०