close

भारतमा अन्तरिक्षबाट समेत देखिने विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा पार्क बन्दै

टेकपाना टेकपाना

मंसिर २३, २०८० ९:४८

भारतमा अन्तरिक्षबाट समेत देखिने विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा पार्क बन्दै

 

काठमाडौं । भारतकाे अडानी ग्रुपले गुजरातको कच्छ मरुभूमिको रण भागमा विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा पार्क बनाउने भएको छ । अडानी समूहका अध्यक्ष गौतम अडानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा निर्माणाधीन प्लान्टका तस्वीरहरू पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

अडानीका अनुसार यो पार्क ७२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र यसबाट २० करोड घरधुरीलाई पुग्ने ३० गिगावाट बिजुली उत्पादन हुनेछ । नवीकरणीय ऊर्जामा भारतको प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको लेख्दै उनले यो पर्क अन्तरिक्षबाट समेत देखिने दाबी गरेका छन् ।

त्यस्तै अडानी ग्रुपले सौर्य र वायु दुवैमा केन्द्रित भएर यस क्षेत्रमा प्रमुख नवीकरणीय ऊर्जा हब निर्माण गरिरहेको छ । यो परियोजना विश्वको सबैभन्दा ठूलो र एकीकृत नवीकरणीय ऊर्जा उत्पादन इकोसिस्टम हुने उनको दाबी छ । यो इकोसिस्टम मुन्द्रा सहरबाट मात्र १५० किलोमिटर टाढा अवस्थित हुने र दिगो ऊर्जातर्फ भारतको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा हुने अडानीकाे भनाइ छ ।

अडानी समूहको यो परियोजनाले कन्फ्रेन्स अफ ल पार्टिज् (सीओपी - कोप) मा भारतले गरेको जलवायु परिवर्तन सम्बन्धीको वाचा पूरा गर्न सहयोग गर्ने र भारतको हरित ऊर्जा क्षमतामा थप वृद्धि गर्ने विश्लेषण गरिएको छ । सन् २०२१ मा भएको कोप २६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले २०७० सम्म भारतमा शून्य कार्बन उत्सर्जन अर्थात् नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरेका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० ९:४८