close

पैसा तिरे विन्डोज १० मा थप तीन वर्ष सेक्युरिटी अपडेट पाइने

टेकपाना टेकपाना

मंसिर २३, २०८० १३:३२

पैसा तिरे विन्डोज १० मा थप तीन वर्ष सेक्युरिटी अपडेट पाइने

काठमाडौं । विन्डोज १० प्रयोगकर्ताले माइक्रोसफ्टबाट थप ‍सेक्युरिटी अपडेट पाउन शुल्क तिर्नुपर्ने भएको छ । इच्छुक प्रयोगकर्तालाई विन्डोज १० को एक्सटेन्डेड सेक्युरिटी अपडेट (ईएसयू) प्रोग्राम सब्सक्राइब गर्न माइक्रोसफ्टले विकल्प दिएको हो ।

माइक्रोसफ्टले डेस्कटपका लागि जारी गरेको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ११ हो । प्रयोगकर्ताबीच भने अझै पनि विन्डोज १० पनि उस्तै लोकप्रिय रहेको बताइन्छ ।

तर माइक्रोसफ्टले विन्डोज १० मा दिने औपचारिक सपोर्ट २०२५ अक्टोबर १४ मा समाप्त हुँदै छ । उक्त मितिपछि विन्डोज १० मा माइक्रोसफ्टले दिने सबै प्रकारको सपोर्ट बन्द हुने छ ।

त्यस्तो अपरेटिङ सिस्टम चलाउँद ह्याकरको पासोमा पर्ने सम्भावना अधिक हुन्छ । तर अब भने निश्चित रकम तिरेर उक्त मितिपछि पनि विन्डोज १० मा सेक्युरिटी अपडेट पाउन सकिने भएको हो ।

यसका लागि ईएसयू सब्सक्राइब गर्न व्यक्तिगत तथा संस्थागत दुवै तरिकाबाट सकिने माइक्रोसफ्टले बताएको छ । तर सब्सक्राइब गर्न लाग्ने शुल्क भने खुलाइएको छैन । तथापि तीन वर्षसम्म सेक्युरिटी अपडेट पाउन सकिने बताइएको छ ।

ईएसयू सब्सक्राइब गर्ने प्रयोगकर्ताले माइक्रोसफ्टबाट मासिक रूपमा सेक्युरिटि अपडेट पाउनेछन् । तर ईएसयू सब्सक्राइब गरेपनि सेक्युरिटी अपडेट बाहेक नयाँ  फिचर, डिजाइन लगायतका सुविधा भने नदिने माइक्रोसफ्टले भनाइ छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १३:३८