close

सामाजिक सञ्जालमार्फत शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्दै धितोपत्र बोर्ड

टेकपाना टेकपाना

मंसिर २३, २०८० १३:४८

सामाजिक सञ्जालमार्फत शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ । एक सूचनामार्फत बोर्डले नेप्से परिसूचक तथा सूचीकृत सङ्गठित संस्थाको शेयरबारे अनधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजार प्रभावित पार्न खोजिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ ।

बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ ।

"सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्न सूचित गरिन्छ,” बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाएमा ऐन अनुसार कारबाही गरिने समेत बोर्डले बताएको छ । साथै लगानीकर्ताहरूलाई कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न बोर्डले अनुरोध गरेको छ । 

हेर्नुहोस् सूचना


 

 

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १३:५९