close

कक्षा १२ सम्मका विद्यार्थीबीच कोडिङ प्रतिस्पर्धा हुँदै, विजेतालाई ५ लाख बराबरको छात्रवृत्ति

टेकपाना टेकपाना

मंसिर २८, २०८० १७:६

कक्षा १२ सम्मका विद्यार्थीबीच कोडिङ प्रतिस्पर्धा हुँदै, विजेतालाई ५ लाख बराबरको छात्रवृत्ति

काठमाडौं । बालबालिकालाई लक्षित गर्दै कोडिङ प्रतियोगिता हुने भएको छ । ‘'मेरो कोडिङ क्लास’ काे आयोजनामा पुस १७ देखि विभिन्न चरणमा 'काेडिङ किकस्टार्ट २.०' प्रतियोगिता हुने भएको हो ।

यसअन्तर्गत कक्षा तीनदेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । टेकपानासँग कुरा गर्दै मेरो कोडिङ क्लासका संस्थापक वसन्त पन्तले ‍‌१२ कक्षासम्मका वा १८ वर्ष ननाघेका विद्यार्थीलाई कोडिङतर्फ आकर्षित गराउने लक्ष्यले प्रतियोगिता गर्न लागिएकाे जानकारी दिए ।

"हामीले बालबालिकाको कलिलो मस्तिष्कलाई कोडिङतर्फ रुचि बढाउने उद्देश्यले अघिल्लो वर्ष पनि यस्तो प्रतियोगिता गरेका थियौं । त्यसैलाई अहिले निरन्तरता दिंदैछौं,” उनले भने, “यो वर्ष हामीले स्कुलहरूलाई लक्षित गरेका छौं । स्कुलहरूले आफ्ना विद्यार्थीलाई यो प्रतियोगितामा सहभागी गराउन सक्नेछन् । स्कुलले हामीसँग कुरा गरिसकेपछि हामी स्कुलमै पुगेर १० दिनको वर्कशप गराउँछौं ।”

तालिमका क्रममा विद्यार्थीलाई स्क्र्याच, पाइथन र वेब डेभलपमेन्टसम्बन्धी कोर्स सिकाउने उनले सुनाए । उनले अगाडि भने, “कोडिङको बारेमा थाहा पाएका वा नपाएका सबै विद्यार्थी सहभागी हुन सक्नेछन् ।”

प्रत्येक विद्यार्थीका लागि दर्ता शुल्क २५०० रुपैयाँ लाग्नेछ । स्कुलले मात्र नभइ विद्यार्थीका अभिभावकले पनि आफ्ना बालबालिकालाई यस प्रतियोगितामा सहभागी गराउन सक्नेछन् । अनलाइन र भौतिक रूपमा हुने यस तालिममा न्यूनतम एक सय विद्यालय सहभागी हुने आयोजकको विश्वास छ ।

प्रतियोगितामा सहभागी हुने ३ देखि ६ कक्षासम्मका विद्यार्थीलाई जुनियर क्याटेगोरी, ७ देखि ९ कक्षासम्मका विद्यार्थीलाई मिड क्याटेगोरी र १० देखि १२ कक्षाका विद्यार्थीलाई सिनियर क्याटेगोरीमा राखिने छ । 

प्रतियोगिताका विभिन्न चरण पार गरेर प्रथम हुनेलाई कोडिङ क्लासले कोर्समा पाँच लाख रुपैयाँसम्मको छात्रवृत्ति र एउटा ल्यापटप उपहार दिने पन्तले जनाए ।

त्यस्तै दोस्रोदेखि पाँचौं हुने विद्यार्थीलाई मेरो कोडिङ क्लासको कोर्समा ८० प्रतिशत, छैठाैंदेखि १०औं हुनेलाई ६० र ११ औंदेखि १५ हुनेलाई ५० प्रतिशत छुटसहित अन्य उपहारजस्तै स्मार्टवाच तथा ट्याब्लेट पाउनेछन् ।

प्रतियोगितामा विद्यार्थीलाई सहभागी बनाउन इच्छुक स्कुलले यहाँ क्लिक गरी आफ्नो फारम भर्न सक्नेछन् । फारम भरिसकेपछि मेरो कोडिङ क्लासबाट कन्फर्मेसन कल जानेछ । त्यस्तै बालबालिकाका अभिभावकले यहाँ क्लिक गरेर सम्पर्क गरी थप प्रक्रियाबारे बुझ्न सक्नेछन् । 

“नेपालमै पहिलो पटक दुई हजारभन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै हुन गइरहेको 'कोडिङ किक स्टार्ट २.०'ले बालबालिकाहरूका लागि प्रतियोगिता, मनोरञ्जनका साथै भविष्यका लागि उपयुक्त ज्ञान प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले थपे ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १७:२४