close

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम

टेकपाना टेकपाना

पुस १, २०८० २०:५८

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये पाँच हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।

राष्ट्रिय सभागृहमा तालिम सुरुवात गर्दै सामाजिक समितिका संयोजक रामकुमार केसीले युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउने गरी निःशुल्क तालिम प्रदान गर्न लागिएकाे बताए । 

त्यस्तै कार्यक्रममा समितिका सदस्य महेश नेपालीले क्षमता भएका, तर योग्यताका लागि पेश गर्नुपर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउने लक्ष्य राखिएकाे बताए ।

दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये छानिएका ४० जनालाई दुई शिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको छ ।  

सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु रहेकाे छ । १२५ घण्टे यो तालिममा ७५ घण्टा 'अन द जब' तालिममा आधारित हुनेछ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । 

कम्प्युटर विज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैरप्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीव्र इच्छा भएका कोडिङ तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको महानगरले जनाएकाे छ ।

महानगरकाे सीपमूलक तालिममा सहभागी हुन चाहनेहरुले याे लिङ्क थिचेर फाराम भर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: पुस ५, २०८० ११:३२