close

१० हजार वर्ष टिक्ने घडी बनाउँदै जेफ बेजोस

टेकपाना टेकपाना

पुस ३, २०८० १६:५२

१० हजार वर्ष टिक्ने घडी बनाउँदै जेफ बेजोस

काठमाडौं । चर्चित ई-कमर्स साइट अमेजनका संस्थापक जेफ बेजोसले घडी बनाउन ४२ मिलियन डलर (पाँच अर्ब ५७ करोड रुपैयाँ) खर्चने भएका छन् । ‘क्लक अफ द लङ नाउ’ अर्थात् १० हजार वर्षे घडी (10,000 year clock) नाम भएको घडी बनाउन बेजोसले मोटो रकम खर्चन लागेका हुन् ।

टेक्सासको पश्चिमी भागमा याे घडी उत्पादनकाे चरणमा छ । अहिले यो घडी बनाउने जिम्मेवारी बेजाेसकै गैरनाफामूलक संस्था लङ नाउले लिएको छ । यस संस्थाको वेबसाइटमा उल्लेख भएअनुसार यो घडी दीर्घकालीन सोच र भविष्यको पुस्ताका लागि अहिलेका मानवताको जिम्मेवारीको सम्झनाको प्रतीक हुनेछ ।

५०० फिट अग्लो हुने यस घडीले प्रत्येक एक वर्षमा ‘टिक’ आवाज निकाल्ने, प्रत्येक शताब्दीमा घण्टीको आवाज निकाल्ने र प्रत्येक सहस्राब्दीमा मात्र पूरै आवाज निकाल्ने जनाइएको छ ।

सरल भाषामा बुझ्दा यो घडी १० हजार वर्ष टिक्ने एउटा मेकानिकल डिभाइस हो । यसलाई चल्न पृथ्वीको थर्मल साइकल आवश्यक पर्छ । घडीमा सोलार सि‍ंक्राेनाइजर, पेन्डुलम, चाइम जेनेरेटर, गियर, डायलजस्ता पार्टपुर्जा हुनेछन् ।

वर्ष, शताब्दी र सहस्राब्दीको ट्रयाक गर्न घडीले हरेक दिउँसो सूर्यसँग सिंक्राेनाइज गर्नेछ । त्यस्तै हरेक दिनका लागि फरक-फरक आवाज निकाल्न चाइम जेनेरेटरले साढे ३५ लाख बेल चाइम सिक्वेन्सेस बनाउने छ ।

वार्षिकोत्सव मनाउन घडीमा पाँच ओटा फरक-फरक कक्ष बनाइने छ । ती कक्षहरू १० औं, १०० औं, १००० औं र १०,००० औं वर्षको वार्षिकोत्सवको लागि प्रयोग हुने छन् । यसका साथै उक्त समयसँग सम्बन्धित कलाकृति र भविष्यको सन्देशहरू राखेर ती कक्षहरू सिल गरिने बताइएको छ ।

बेजोसले निर्माण गर्ने यो घडीको कल्पना भने कम्प्युटर वैज्ञानिक तथा आविष्कारक ड्यानी हिलिसले कल्पना गरेका थिए । अब यसलाई वास्तविक रूप दिन लागिएको छ । यद्यपि घडीको निर्माण सम्पन्न हुने मितिबारे भने केही पनि खुलाइएको छैन ।
 

 

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १८:५६