close

डिपफेक, एआई स्क्याम तथा अन्य साइबर अपराधबाट यसरी चोरी हुन सक्छ तपाईंको पैसा

टेकपाना टेकपाना

पुस ४, २०८० १५:७

डिपफेक, एआई स्क्याम तथा अन्य साइबर अपराधबाट यसरी चोरी हुन सक्छ तपाईंको पैसा

काठमाडौं । ३० नोभेम्बर २०२१ पछि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको चर्चा आकाशियो । ओपनएआईले प्रश्न सोधेकै भरमा मानिसले जस्तै जवाफ दिने च्याटजीपीटी सार्वजनिक गरेपछि एआई टुलले सर्वाधिक बढी चर्चा पायो । च्याटजीपीटी आइसकेपछि अन्य टुल पनि सार्वजनिक भए । केहीले शब्दकै भरमा फोटो तयार पारिदिने टुल विकास गरे भने केहीले शब्दको भरमा भिडिओ तयार पारिदिने टुल बजारमा ल्याए ।

एआई टुल बजारमा आइसकेपछि यसका सकारात्मक तथा नकारात्मक प्रभावहरू समाजमा देखिए । एआईको चर्चासँगै डिपफेक, एआई स्क्याम र साइबर अपराधसँग सम्बन्धित अन्य टुलहरूको चर्चा पनि त्यत्तिकै बढिरहेकाे छ ।

यही विषयलाई मध्यनजर गर्दै चर्चित एन्टिभाइरस निर्माता कम्पनी म्याकफीले २०२४ मा एआईका कारण के-कस्ता जोखिम हुन सक्छन् भन्नेबारेमा एक रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा अत्याधुनिक एआई प्रविधिका कारण बढ्दै गएको डिपफेक, आइडेन्टिटी थेफ्ट र साइबर स्क्याममा उपभोक्ता कसरी फस्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ । 

डिपफेकको उदय 

नेपालमा चर्चित सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध हुनुअघि एआईबाट तयार पारिएका सेलिब्रेटीको आवाज निकै भाइरल भएको थियो । विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरी खेलेको, नायिका स्वस्तिमा खड्काको डाइलग (संवाद) विभिन्न भाषामा डब गरेको र अन्य सेलिब्रेटीहरूले गीत गाएको भिडिओहरू भाइरल नै भए ।

नेपालमा मात्र नभइ विश्वभर यस्ता आवाज तथा भिडिओ भाइरल भइरहेका छन् । एआईद्वारा निर्माण गरिएका आवाजमा भिडिओ तथा फोटो स्क्याम (ठगी) गर्न प्रयोग भइरहेका हुन्छन् । यसले गर्दा ठगीका घटना मात्र नभइ गलत तथा भ्रामक सूचना पनि तीव्र गतिमा फैलिन्छन् ।

डिपफेक प्रविधिमा यस्तो क्षमता हुन्छ, जसले गर्दा कुनै पनि गतिविधि त्यही व्यक्तिले गरेको हो वा उसको अनुहारमा अरु कसैको अनुहार जोडिएको हो भन्ने छुट्याउनै सकस पर्छ । म्याकफीले २०२४ मा यस्तो जोखिम झनै बढ्ने अनुमान गरेको छ । 

सामाजिक सञ्जालमा एआई स्क्याम 

२०२४ मा एआईले साइबर अपराधीलाई सामाजिक सञ्जालका माध्यमलाई आफूले चाहे अनुकूलको बनाउँछन् र सर्वसाधारणको धारणा नै परिवर्तन गरिदिन्छन् । उनीहरूले विशेषगरी इन्फ्ल्युन्सर र चर्चित व्यक्तिको नाम, फोटो तथा भिडिओ प्रयोग गरेर सर्वसाधारणलाई ठगी गर्न सक्छन् ।

त्यसैले यस्ता अपराधबाट आफूलाई जोगाउन समयमै सतर्कता अपनाउनुपर्ने रिपोर्टमा उल्लेख छन् । त्यस्तै स्क्यामरले एआईको सहायताले सामान खरिद-बिक्री गर्ने वेबसाइटमा मानिसलाई ठग्न सक्नेछन् । 

साइबर बुलिङ

डिपफेक प्रविधिका कारण साइबर बुलिङको जोखिम पनि बढ्ने रिपोर्टले चेतावनी दिएको छ । युवाहरूले यो टुलको प्रयोग मनोरञ्जनका लागि मात्र नभइ नक्कली कन्टेन्ट तयार पार्न प्रयोग गर्नसक्ने जोखिम बढेको छ ।

विशेषगरी कसैको फोटो तथा बोलेका शब्दलाई लिएर तोडमोड गरी पारिवारिक सम्बन्ध बिगारिदिने, चरित्रहत्या गर्ने, गोपनीयतामा गम्भिर असर पुर्‍याउने सम्भावना उच्च छ । 

सहयाेग/अनुदान मागेर ठगी गर्ने  

कुनै चर्चित व्यक्ति वा सामाजिक अभियन्ताले सहयोग वा अनुदानको अपिल गरे सहयोग गर्न तयार हुने व्यक्तिहरू धेरै हुन्छन् । विशेषगरी कसैले दुःख पाएको छ, कुनै नयाँ सामाजिक परियोजनाको काम हुँदैछ वा कसैलाई सहयोग गर्नुपर्ने अवस्था आए मनकारी व्यक्ति सहयोग गर्न तयार हुन्छन् ।

यही भावनाको आडमा एआईको प्रयोग गरेर ठगी गर्न सक्ने अवस्था सिर्जना भइसकेको छ । २०२४ मा अनुदानका नाममा डिपफेक तथा एआई प्रविधिको प्रयोग गरी हुने ठगी बढ्ने रिपोर्टमा उल्लेख छ । 

खतरनाक मालवेयर फैलिने जोखिम

एआई टुल यति शक्तिशाली भइसकेका छन् कि यिनलाई प्रयोग गर्न जान्ने मान्छेले शक्तिशाली मालवेयर तयार पारिदिन सक्छन् । डिपफेककै सहायताले स्क्यामरले मालवेयर फैलाएर प्रयोगकर्ताको संवेदनशील डेटा वा पैसा चोरी गर्न सक्नेछन् । २०२४ मा यस्तो जोखिम अत्यधिक बढ्ने रिपोर्टमा उल्लेख छन । 

ओलम्पिकको नाममा ठगी 

२०२४ मा हुने ओलम्पिक खेललाई लक्षित गर्दै अनलाइन उपभोक्तालाई ठगी गर्न स्क्यामरले डिपफेक प्रविधिको प्रयोग गर्न सक्नेछन् । अगाडि नै टिकेट काट्ने, ट्राभल बुक गर्ने, नयाँ कन्टेन्टमा पहुँच पाउने र गिभअवेमा सहभागी हुन चाहने व्यक्तिहरूलाई ठगी गर्न स्क्यामरले डिपफेक प्रविधिको प्रयोग गर्न सक्नेछन् । यसबाट प्रयोगकर्ताको व्यक्तिगत विवरण मात्र नभइ रकम पनि दुरुपयोग हुने जोखिम भएको रिपोर्टमा भनिएको छ । 

स्क्यामरले पठाएका मेसेज प्रायः सजिलै छुट्टिने किसिमका हुन्थे । कुनै आधिकारिक वा भनौं स्थापित कम्पनीले आफ्ना ग्राहकलाई सन्देश पठाउनुपर्‍यो भने त्यही किसिमका भाषाशैली प्रयोग गरेका हुन्छन् । त्यही अनुसारका विज्ञ नियुक्ति गरेका हुन सक्छन् ।

तर, स्क्यामरले यति धेरै काम गर्न सकिरहेका हुँदैनन् जसले गर्दा उनीहरूले पठाएको ईमेलमा प्रयोग गरिएका भाषा हेरेर पनि उक्त ईमेल आधिकारिक हो वा होइन भन्ने छुट्याउन सकिन्थ्यो । तर, अहिले एआईको सहायताले विज्ञले भन्दा पनि शुद्ध र स्तरीय भाषामा लेख लेख्न सकिन्छ ।

यसैको दुरुपयोग गरी ठूला-ठूला ठगीका घटना हुने रिपोर्टमा उल्लेख छ । फिशिङ ईमेलमा समेत डिपफेक प्रविधिको अत्यधिक प्रयोग हुनेछ । यसले गर्दा सम्भावित जोखिम के हुन सक्छन् र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने छुट्याउनै मुस्किल पर्ने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १५:१९